हलिउडको झल्को दिने ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक

भाद्र १७ बाट प्रदर्शनमा आउने मेगा बजेटको मल्टिस्टारर फिल्म ‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ हराएँ तिमीभित्रै हराएँ ’ बोलको गीत सार्वजनिक भएको छ ।

चल्तीमा रहेका भिडियोभन्दा फरक देखिएको गीतको भिडियोमा नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ छाएका छन् । यो गीतको सुटिङ स्कटल्यान्ड र इङल्यान्डमा गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । तारा प्रकाश लिम्बुले कम्पोज यस गीतको शब्द रचना आनन्द अधिकारीले गरेका हुन् । त्यस्तै तारा प्रकाश र अनु चौधरीले स्वर दिएका छन् ।

भिडियोमा स्कटल्यान्डका डाँडापाखा र इङल्यान्डको समूद्रमा पुजा र आकाशको केमेस्ट्री निकै उत्कृष्ट देखिन्छ । बेलायत बस्ने नेपाली र बेलायती कलाकार पनि यस गीतमा देखिएका छन् । डिसेम्बरको महिना सुटिङ गरिएको हुनाले स्कटल्यान्डमा निकै चिसो थियो । तर कलाकारहरुले त्यसलाई भिडियोमा महसुस हुन दिएका छैनन् । आफ्नो सम्पूर्ण टिमले यस फिल्ममा निकै उत्कृष्ट काम गरेको निर्देशक सुदर्शन थापाले बताए । ‘ कसैको कुनै कम्प्रमाइज छैन,’ उनले भने,‘यो फिल्म नेपाली सिने जगत्मा नयाँ कोशेढुंगा साबित हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ गीतको मिठास तथा सुन्दर प्राविधिक पक्षले थापाको भनाइ पुष्टि गरेको छ ।

‘मुटु नै काम्ने जाडो थियो । एकातिर हिउँ परिरहेको थियो, अर्कोतिर कलाकारहरु पातलो पहिरनमा पनि जाडो नलागेजसरी जोडदार अभिनय गरिरहेका थिए । ती सुन्दर डाँडामा ड्रोन उडाउनुको बेग्लै मज्जा थियो,’ सिनेमाटोग्राफर सौरभ लामा भने ।

विदेशमा यसअघि पनि धेरै फिल्म सुटिङ भइसकेको भएपनि यस फिल्मले अलग फ्लेबर दिने छाँट ट्रेलरबाटै देखाएको थियो । जहाँ, बेलायतको सुन्दरतासँगै दुबईको भव्यता पनि देखिन्थ्यों । झन्डै ५० जनाको टोलीले सुटिङका लागि ६५ दिनसम्म बेलायत बसेका थिए । यसबाट पनि निर्माता र निर्देशकले फिल्म निर्माणमा कुनै कन्जुस्याँई गरेका छैनन् भन्ने प्रमाणित हुन्छ ।

हलिउडकै झल्को दिनेगरी यति ठूलो क्यान्भासमा नेपाली फिल्म खिचिएको सायद यो पहिलोपटक हो । फिल्ममा पुजा र आकाशसँगै भारतीय कलाकार सोनाम तोप्देन मुख्य भूमिकामा छन् । त्यस्तै, सरोज खनाल, धिरेन शाक्य र गौरी मल्लको पनि अभिनय छ । अमित बस्नेत, अजित कुमार थापा र परी रानाले यस फिल्मलाई निर्माण गरेका हुन् ।