दयाहाङको नक्कल गरेको भन्नेलाई धिरजको जवाफ–‘उहाँ मेरो आइडल हो’

केही दिन अगाडि नायक प्रदीप खड्का नायक दयाहाङ राईको बिषयमा दिएको प्रतिक्रियाले विवादित बनेका थिए । तर, नायक धिरज मगरले भने आफू भन्दा सिनियर कलाकारलाई उच्च सम्मान देखाउँदै दर्शक तथा मिडियाकर्मीको मन जितेका छन् ।

असोजको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’मा धिरजले आफ्नो गेटअप र बोली परिवर्तन गरेका छन् । तर, उनको बोलीलाई धेरैले ‘कबड्डी’मा दयाहाङको जस्तो झल्को आएको प्रतिक्रिया दिइरहेका छन् । कतिपयले त उनलाई दयाको नक्कल गर्न भ्याएको समेत तर्क गरेका छन् ।

यस बिषयमा फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै धिरजले भने–‘मैले दोश्रो फिल्ममा काम गर्दै गर्दा दयाहाङ राई जस्तो कलाकारसँग मेरो तुलाना हुनु आफैमा खुशीको कुरा हो । किनकी, दया दाई मेरो आइडल जस्तै हुनुहुन्छ । यसैले, उहाँको झल्को आउँदा म खुशी छु ।’

धिरजले, यो फिल्ममा पनि आफू काजीकै भूमिकामा देखिएकाले दयाहाङ दाईको जस्तो लागेको बताए । भने–‘मेरो भूमिका हेरेपछि हरेक गाउँ ठाउँका काजीहरुले आफूलाई पाउनेछन् । यसैले, म यसमा दया दाई र कबड्डीको फ्लेवर आएन भन्दिनँ । तर, यो तुलानाले म भने हर्षित छु ।’