बासी साउथ फिल्म ल्याएर ताजा नेपाली फिल्ममाथि वितरकको राजनीति

वितरक मनोज राठी र उनको टिमले एक साता अगाडि नै भारतमा रिलिज भैसकेको ‘कार्तिकेय २’ नामक फिल्म आउँदो साता अर्थात शुक्रबारदेखि रिलिज गर्ने भएको छ ।

यो फिल्म भारतमा रिलिज हुँदा नेपाली वितरकको आँखा यसमाथि परेको थियो । फेरि, ‘लाल सिंह चड्डा र रक्षा बन्धन’ जस्ता हाइप भएका फिल्ममाथि करोड बढीको लगानी गरेका वितरकले तेलुगु फिल्ममाथि आँखा लगाउने कुरा पनि भएन ।

तर, भारतमा विस्तारै यो फिल्मको चर्चा चलेपछि मनोज राठी र उनको टिम जुरमुराएका छन् । भारतबाट सस्तो रकममा साउथ फिल्म ल्याएर यहाँ राम्रै रकम कमाइरहेको यो टिमले ‘कार्तिकेय २’ पनि नेपाल भित्राउने भएको छ ।

अझ, भनौ भारतमा शुक्रबार नै रिलिज भएको बासी फिल्म हो ‘कार्तिकेय २’ । अब, भदौको ३ गतेबाट यो फिल्म रिलिज गर्ने तयारीमा नेपाली वितरक रहँदा उनीहरुलाई यही मितिमा रिलिज हुन लागेका ताजा ३ नेपाली फिल्मको चिन्ता किन लाग्थ्यो र ?

यो मितिमा ‘कृष्णलीला, माइकल अधिकारी र प्रेमगञ्ज’ नामक ३ फिल्म रिलिज हूँदैछन् । तर, यी तिन ताजा फिल्ममाथि एक हप्ता अगाडि नै रिलिज भैसकेको तेलुगु फिल्म ल्याएर वितरकहरु पैसा कमाउन चाहन्छन् ।

फ्रेस फिल्म नै रिलिज गर्ने सोच बनाएको भए त ठिकै हो । तर, आफूलाई मन लागेको बेलामा भारतमा रिलिज भैसकेका फिल्म ल्याएर रिलिज गर्दा वितरकहरुलाई नेपाली फिल्ममाथि अन्याय गरेको कहिले नलाग्ने रहेछ क्या ?