‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरसँग वितरकले मागे पैसा

५ दिनमा ५० करोडको पनि कमाई गर्न नसकेको बलिउड नायक आमिर खान निर्मित तथा अभिनित फिल्म ‘लाल सिंह चड्डा’का कारण वितरकहरुलाई ठूलो घाटा भएको छ ।

आमिरको ४ बर्षपछि फिल्म आएकाले पनि वितरकहरुलाई उनीमाथि निक्कै भरोसा थियो । यसैले, उनीहरुले यो फिल्ममाथि करोडौं लगानी गरेका थिए । तर, फिल्मले बक्स अफिसमा निक्कै कमजोर व्यापार गर्दा वितरकहरु घाटामा छन् ।

फिल्मबाट ठूलो घाटा भएपछि वितरकहरुले आमिरसँग मुअब्जा मागेका छन् । फिल्मका लागि आमिरले निक्कै मिहिनेत पनि गरेका थिए । यसैले, फिल्म फ्लप हुदा आमिर पनि आफै गहिरो संकटमा डुबेका छन् ।

हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेकको रुपमा बनेको यो फिल्मका लागि आमिरले ४ बर्षको समय खर्चिएका थिए ।

आमिर खान यो फिल्मको सह–निर्माता पनि भएकाले उनी वितरकहरुलाई मुअब्जा दिन तयार भएका छन् । भारतीय मिडियाका अनुसार, यो फिल्मबाट वितरकलाई सय करोड भन्दा बढी घाटा हुनेछ ।