‘भगवत् गीता’मा धिरजले मागे अनमोल बराबरको पारिश्रमिक

केही महिना अगाडि फिल्म ‘भागवत् गीता’मा नायक धिरज मगर फाइनल भएको समाचार सार्वजनिक भएको थियो । तर, फिल्मको निर्माणपक्षले भने धिरजसँग कुरा भएपनि फाइनल नभैसकेको बताएको छ ।

यो फिल्मको भदौको ३ गते टिजर सार्वजनिक भयो । जसमा, नायिका सुहाना थापालाई मात्र देखाइएको छ । निर्माता सुनिल कुमार थापाको ओपन हर्ट सर्जरी नभएको भए संभवत यतिबेला यो फिल्मको छायांकन सुरु भैसकेको हुने थियो । तर, अब केही समयमै फिल्मको छायांकन सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।

यो फिल्मका लागि निर्देशक झरना थापा र उनको टिमले नायक धिरज मगरसँग कुरा अगाडि बढाएको केही महिना भयो । झरना, सुनिल र सुहाना अमेरिका जानु अगाडि नै धिरजसँग कुरा अगाडि बढाइएको थियो ।

तर, श्रोतका अनुसार धिरजले चर्को पारिश्रमिक माग गरेपछि थापा परिवार उनीसँग कुरा रोकेर अमेरिका हानिएका थिए । श्रोतले भन्यो–‘धिरजले मुखै खोलेर त पारिश्रमिक मागेका थिएनन् । तर, उनको वरिपरीबाट कुरा आउँदा ४० लाख भनिएको थियो । ४० लाख पारिश्रमिक दिन थापा परिवारले अस्विकार गर्यो र उनीहरु अमेरिका हानिए ।’

अमेरिकाबाट फर्किएपछि धिरजसँग कुरा खासै अगाडि बढेको छैन । यदि, धिरजले पारिश्रमिक चर्को मागेको खण्डमा उनको स्थानमा नयाँ नायक लिने निर्माणपक्षको तयारी छ ।

श्रोतका अनुसार, धिरजले पनि अनमोल बराबरको पारिश्रमिक मागेका थिए । धिरज नेपाली फिल्म क्षेत्रमा आफूलाई पनि स्टार नायकको रुपमा लिने गरेका छन् । यसैले, पनि उनले अनमोलसँग टक्कर रहेको सन्देश बजारमा दिनका लागि उनले लिने बराबरको पारिश्रमिक माग गरेका हुन् ।