‘रामलाल जोशीको ‘बाआमा’ मेरै बारे लेखिएको त होइन लाग्छ, शब्दमा निकै शक्ति छ’

Mero Film

प्रज्ञा डबलीमा शुक्रबार साहित्यकार, कलाकार र राजनीतिज्ञ एकै मञ्चमा थिए । उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम गरेको हो मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कथाकृति ‘बाआमा’ले । जोशीले नयाँ कृति ‘बाआमा’ बजारमा ल्याएका छन् ।

बुकहिल प्रकाशक रहेको ‘बाआमा’लाई शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा, महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहाले संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै नेता थापाले कृतिको खुलेरै चर्चा गरे । पुरै पुस्तक पढेको बताउँदै उनले पात्र र परिवेशको व्याख्या गरे । कथाका प्रत्येक शब्दले आफूलाई छोएको गरे ।

‘यो काल्पनिक कथा हो । यसको पात्र चरित्र कसैसँग मेल खाएमा केवल संयोग मात्रै हुनेछ । चलचित्र हेर्दा सबैभन्दा पहिला पर्दामा यो लेखिएको आउँछ । रामलाल जोशीले पनि पुस्तकको आमुखमा लेखेको भए सायद सबैलाई न्याय हुन्थ्यो,’ उनले पुस्तकको चर्चा गर्दै भने, ‘किनकि, ‘बाआमा’ किताब पढ्दै जाँदा यो बाको कथा हो । आमाको कथा हो । र, बाआमाको कथा त्यतिखेर मात्र हुन्छ जतिखेर सन्तानको कथा हुन्छ । सन्तान नभए बा र आमाको कथा हुँदैन । यो कुनै एक जना बाको, एक जना आमाको र एक जना सन्तानको कथा होइन । यो थुप्रै बाहरू, आमाहरू र सन्तानहरूको कथा हो । या तपाईं र मेरो जस्ता धेरैको बाआमाहरूको कथा हो । त्यसैले कथा पढ्दै जाँदा कहीँ मेरै बारेमा अथवा मेरो आफन्तको बारेमा लेखिएको त होइन भन्ने लाग्छ । कतै लेखकले मेरो कुरा थाहा पाएको त होइन भन्ने सम्म हुन्छ ।’

लेखक जोशीले सुरुमै बा भनेको विश्वास हो र आमा भनेको यथार्थ भएको कुरा सत्य भएको र सत्यभन्दा ठूलो अरू कुनै शक्ति नहुने टिप्पणी गरेका थिए । पाठकहरूको अगाडि बाआमा पढिरहँदा लेखकले अनेक मौका र चुनौती दिइरहने थापाले बताए । उनले पुस्तक पढ्दै गर्दा त्यस्ता कुराको आभास हुने बताए ।

‘ऐना कथा संग्रहमा रामलाल जोशीले हामीलाई सुदूरपश्चिमको पहाड मधेस घुमाएजस्तै बाआमाबाट संसार घुमाउँछन् । सुदूरका पहाडदेखि मधेस मात्रै होइन अमेरिकासम्म पुर्‍याउँछन् । किनकि बाआमा सुदूरपश्चिममा मात्रै छैनन्, सबैतिर छन्,’ उनले भने । चलचित्र जस्तो लाग्ने कथाहरूको संग्रह एउटा फोटोबाट सुरु भएको उनले बताए ।

‘एउटा छोरोले राम र लक्ष्मणको फोटो हेरिरहँदा बाको फोटो किन नभएको होला भनेर सोध्छ । त्यहीनिर कथा टुङ्गिन्छ । आमा भन्छिन्, फोटो राख्नु हुँदैन । किनकि फोटोले कहिल्यै पनि हँसाउँदैन । रुवाउँछ मात्रै । फोटो बोल्दैन । फोटोसँग हामी बोले पनि फोटोले जवाफ दिँदैन । जसले छोडेर जान्छन् त्यसको फोटो राख्नु हुँदैन । फोटो ज्यानमारा हुन्छ । आमाले भनेको त्यही फोटोको कथा छोरोले दोहोराएर भनेर टुङ्गिन्छ,’ कथाका केही अंशलाई सम्झँदै थापाले भने ।

बाआमालाई सबैभन्दा बढी माया सन्तानको हुने उनले बताए । ‘सन्तानलाई माया गर्दैगर्दा जब त्यो माया बाआमालाई र सन्तानलाई बाँड्नुपर्छ तब हामीलाई बाआमाको पक्षमा उभिनु पर्छ भन्ने लाग्छ,’ थापाले भने ।

महानायक राजेश हमालको तर्क पनि थापाको जस्तै थियो । उनले जोशीको किताब पढ्दै गर्दा आफू धेरै ठाउँमा रोकिएको बताएका थिए । ‘मैले अहिलेसम्म यो पुस्तक ७० प्रतिशत मात्रै पढ्न सकेको छु । धेरै ठाउँमा आफ्नै बाल्यकाल सम्झाउने कथाहरू यसमा छन् । मलाई पहिले पुस्तक पढेर सक्ने बानी थियो । अहिले पात्रहरूले डुबाउँछन् । बाआमाका पात्र र कथावस्तुले पनि मलाई निकै डुबायो र म अघि बढ्नै सकिन । तर, पुरा पढ्ने छु,’ हमालले भने ।

उनले आफ्नो आमाको स्मरण गर्दै बाआमाको चर्चा गरेका थिए । हमालले बाआमा निकै उत्कृष्ट र शक्तिशाली पुस्तक भएको टिप्पणी गरेका थिए ।

साहित्यकार शाहले पनि कथा संग्रह पढ्दा आफ्नै जीवन भोगाइ पढेझैँ भएको बताएकी थिइन् । ‘मलाई बाआमाका प्रत्येक शब्द/शब्दले छोयो । शब्द/शब्दमा रोए । यो कथा संग्रह पढ्नका लागि दरिलो मुटु चाहिन्छ । यी शब्द मेरो मात्रै नभर सबैको जीवनसँग मेल खान्छन् । यो विषयमा यति शक्तिशाली शब्द लेख्नसक्नु निकै ठूलो न्यायको विषय हो,’ शाहले भावुक हुँदै भनिन् ।

कथाकार पाण्डेले पनि पुस्कतकको चर्चा गरेका थिए ।


Leave a Reply

Your email address will not be published.