पल शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ, बालयौन दुरुपयोगमा दोषी ठहर

जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आजको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । मंगलबार न्यायाधीश आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका छन् ।

शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । साथै रु २५ हजार जरिवानाको फैसलासमेत भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले राससलाई जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । शाहको यसअघि भदौ १५ गते पेशी तोकिएमा स्थगित भई आज सुनुवाइ भएको हो ।

शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । नायक शाह तनहुँ कारागारको थुनामा छन् । उनीविरुद्ध तनहुँ अदालतमा सुनुवाइ हुन बाँकी छ । भदौ १५ गते पेशी तोकिएकामा उक्त दिन न्यायाधीश बिदामा बसेपछि पेशी स्थगित भएको थियो ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भनी रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।