१२ बर्ष कैद मागिएकोमा पललाई साढे २ बर्षको मात्र कैद सजायँ किन दिइयो ?

नायक पल शाहलाई जिल्ला अदालत, नवलपुरले साढे २ बर्षको कैद सजायँ सुनायो । मंगलबार राती आएको फैसला अनुसार पलले अब साढे २ बर्ष कैद सजायँ भोग्नुपर्नेछ । जिल्ला अदालत, तनहुँको फैसला भने विचाराधिन छ ।

पललाई बलात्कारको मुद्दामा सफाई मिल्यो । तर, यौन दुरुपयोगको कसुर स्थापित गरेर उनलाई साढे २ बर्ष जेल सजायँ र २५ हजार जरिवाना सुनाइएको छ । पलले नाबालिकालाई १० लाख रुपैयाँ क्षतीपूर्ती समेत तिर्नुपर्नेछ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ मा बलात्कार र बाल यौन दुरुपयोगबारे छुट्टाछुट्टै व्यवस्था छ । बालबालिकालाई यौन सम्बन्धी क्रियाकलाप गराएमा बाल यौन दुरुपयोगको कसुर आकर्षित हुन्छ । यो कसुरमा बढीमा ३ बर्ष जेल सजायँ र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यसैले, पललाई साढे २ बर्षको जेल सजायँ सुनाइएको हो ।

अदालतले यस अगाडि पनि बलात्कारको आरोप पुष्टी नभएको खण्डमा त्यस्तै प्रकृतिको तर कम सजायँ हुने आरोपमा दोषी ठहर गर्दै फैसला गरेको उदाहरण छ । पलको मुद्दा पनि यसैमा प्रभावित भएको छ ।