ज्ञानेन्द्र देउजाः जसले नबोली ‘झिँगे दाउ’ हिट बनाए

केही हप्ता अगाडि पत्रकार सुशिल पौडेलले एउटा स्टाटस लेखे–‘बोल्नेको पिठो बिक्छ, बढि बोल्नेको अब चामल पनि बिक्दैन ।’ फिल्म हेर्ने दर्शक यति धेरै बाठा भैसकेका छन् कि उनीहरु कुन फिल्मको बिषयवस्तु कस्तो छ भनेर सजिलै थाहा पाउँछन् । फिल्मीकर्मीको नाठी राम्रैसँग छामेका दर्शकलाई अब झुक्याउन गाह्रो छ ।

नेपाली फिल्ममा अब बोल्नेको ‘पिठो त बिक्छ होला’ तर बढी बोल्नेको चामल पनि नबिक्ने अवस्था आइसकेको छ ।

रिलिज अगाडि फिल्मीकर्मी, मिडियाकर्मी र दर्शकले खासै नपत्याएको फिल्म थियो ‘झिँगे दाउ’ । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मको बिषयवस्तु, कलाकार हेरेर सबैले यो फिल्म चल्दैन भनेर आँकलन गरेका थिए ।

तर, ठ्याक्कै भैदियो उल्टो । भदौ महिनामा रिलिज भएका ९ वटा फिल्ममध्ये दर्शकको साथ पाएको एक मात्र फिल्म बन्यो ‘झिँगे दाउ’ । निर्माताले नेपालबाटै सहजै लगानी उठाउने पक्का छ । तेश्रो साताको शनिबार पनि हलमा दर्शकको भीड देखिएको छ ।

यो फिल्मका लागि पाका निर्देशक देउजा अरुको जस्तो हल्ला गर्दै हिडेनन् । मेरो फिल्म भयंकर छ भनेर पनि भनेनन् । उनले कलाकारहरुलाई पहिले नै भनेका थिए–‘फिल्म चल्यो भने म खुशी हुन्छु । चलेन भने पनि मलाई केही छैन ।’
आखिर, नबोली उनले फिल्म चलाए । किनकी, उनले फिल्म गतिलो बनाएका थिए । दर्शकले फिल्म हेरेपछि आफै प्रचार गरिदिए र फिल्म चल्यो ।

फिल्म राम्रो बनाउने हो र परिवारका दर्शकलाई तान्न सक्ने हो भने फिल्मले लगानी उठाउँछ । ‘कबड्डी, छक्का पन्जा, जात्रा’का सिरिजले यो उदाहरण प्रस्तुत गरिसकेका छन् ।

नेपाली फिल्म क्षेत्रका मानिसहरुले पाका निर्देशक देउजाबाट धेरै कुरा सिक्न आवश्यक छ । यसमध्ये, सिक्नुपर्ने एउटा कुरा के हो भने आजको जमानामा ठिक्क बोल्यो भने पिठो पनि बिक्छ, बढि बोल्यो भने चामल पनि विक्दैन ।