‘प्रेमगीत ३’को हिन्दी रिलिजबारे निर्माता संघले भन्यो–‘विदेशी भाषाको फिल्मलाई स्वदेशी सरह सुविधा दिन हुँदैन’

नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’को प्रदर्शनको बिषयलाई लिएर संस्थाका अध्यक्ष उपर भैरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि खेलेको भूमिकालाई समेत संघले प्रशंसा गरेको छ । यो फिल्मले अन्तरराष्ट्रिय बजार विस्तारमा खेलेको भूमिकालाई कोशेढुंगाको रुपमा लिइएको समेत संघले स्पष्ट पारेको छ ।

तर, निर्माता संघको गौरवमय इतिहासमाथि निर्मम रुपमा प्रहार गरि स्वार्थ सिद्ध गर्ने अभिप्राय अनुरुप ‘प्रेमगीत ३’को प्रदर्शनको बिषयलाई जोडेर संघमाथि मिथ्या, भ्रामक र कपोकल्पित आरोप लगाइरहेको बिषय तथ्यहीन, झुट र फिल्म क्षेत्रमा स्वार्थपूर्ति गर्ने अभिष्ट अनुरुप आएको हो भन्ने ठहर पनि निर्माता संघले गरेको छ ।

निर्माता संघले नेपालमा प्रदर्शन गरिने कुनै पनि भाषाका फिल्मप्रति नकारात्मक नरहेको पनि स्पष्ट पारेको छ । निर्माता संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हाम्रो ध्यान सदैव नेपाली फिल्मको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी फिल्मको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी फिल्मको अतिक्रमण विरुद्धमा लड्दै आइरहेका छौं । हाम्रो लडाई विशुद्ध विदेशी फिल्मको अतिक्रमण विरुद्ध हो । फिल्म भनेको व्यापारको साधाना मात्र हैन यो भाषा, कला, साहित्य र संकृतिको द्योतक पनि हो । त्यसैले, राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केवल नेपाली भाषाका फिल्महरुलाई हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ । भाषा भनेको अभिव्यक्तिको माध्यम हो भने कला, साहित्य, संकृती र भेषभुषासँग यसको अन्तर्निहित सम्बन्ध हुन्छ । त्यसैले यो सभ्यताको प्रतिक पनि हो ।’

निर्माता संघले विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको माग दाबी गर्नु बाञ्छनीय नहुनुका साथै ऐन–कानुनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो ।’

निर्माता संघले विकास बोर्डसँग ‘प्रेमगीत ३’लाई प्रदर्शनका साथै कर तथा राजश्व छुट र सहुलियत प्रदान गर्ने निर्माणपक्षको मागदाबी सम्बन्धमा विकास बोर्डबाट फिल्म निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताविक विधी र विधान अनुरुप नै गर्न आवश्यक रहेको समेत प्रष्ट पारेको छ ।