सन्तोष र प्रदीपलाई दीपकराजको प्रश्न–‘उद्योगका मान्छेलाई गाली गरेर सबैलाई सिध्याउने हो ?’

असोजको ७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’का कारण फिल्म क्षेत्र २ भागमा विभाजित भएको छ । अझ, कलाकारहरुमाथि तथानाम गाली गलौज पनि सुरु भएको छ । फिल्म क्षेत्रमा दशकौ बिताएका फिल्मीकर्मीमाथि यो फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेन र नायक प्रदीप खड्काले गालीगलौज गरिरहेका छन् ।

यो विवादमा नायक अनमोल केसीलाई अनावश्यक रुपमा तान्ने कोशिश पनि भैरहेको छ । यो विवादमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नायिका तथा निर्देशक झरना थापा, चलचित्र निर्माता संघका महासचिव सुनिल कुमार थापा, कलाकार तथा निर्माता दीपकराज गिरीलाई पनि मुछ्ने काम भैरहेको छ ।

अब, त फिल्म क्षेत्रमा ४ दशक बिताएका बरिष्ठ कलाकार सरोज खनालमाथि निर्माता सन्तोष सेनले तल्लो स्तरको टिप्पणी समेत गरेका छन् । मुम्बइले फिल्म बनाउन मात्र होइन, संकार पनि सिकाउँछ भन्ने नै प्रदीप र सन्तोषले विर्सिएको देखिन्छ ।

आफ्नो बारेमा नराम्रो भन्ने फिल्मीकर्मी, पत्रकार, दर्शक सबैमाथि सन्तोष सेनको टिम खनिएको देखिन्छ । यी सबै कुरा देखेपछि कलाकार दीपकराज गिरीले स्टाटस नै लेखेर असन्तुष्टी पोखेका छन् । उनले लेखेका छन्–‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्या यो श्र आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै रा जगर्ने हो ? घर नै नरहे कहाँ बस्छौं साथी ? जे जे गर्यौ महान काम गर्यौ । तर, हिन्दी भाषको नियम अनुसार कर तिर । बरु राम्रो कामका लागि नेपाली भाषाको फिल्ममा अतिरिक्त छुट माग सक्किगो त ।’

उनले, सन्तोष र प्रदीपको यति ठूलो अन्याय सहेर बस्न नसकिने पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘साथीहरुले कसरी सहेर बसे, मैले सकिन माफ पाउँ । हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी । तपाइको फिल्म चल्दा हामी कसैलाई वेफाइदा छैन । तपाइको बजार बढ्दा भोली मैले पनि कमाउने बाटो खुल्छ । फाइदा नै छ । सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौं । होइन भने एकले अर्कोलाई नसकौं ।’