‘प्रेमगीत ३’ हिन्दी अब भारतीय फिल्म, विदेशी फिल्म सरह नेपालमा सेन्सर अनुमति

चलचित्र विकास बोर्डले हिन्दी भर्सनमा तयार भएको फिल्म ‘प्रेमगीत ३’लाई विदेशी फिल्म सरह सेन्सरका लागि अनुमति दिएको छ । यसको निर्माणपक्षले सम्पूर्ण कागजात पेश गरेपछि फिल्मलाई हिन्दी सेन्सरका लागि अनुमति दिइएको हो ।

चलचित्र विकास बोर्डले नेपालबाट डबिङका लागि अनुमति नै नलिएको, हिन्दी भर्सनमा तयार भएको भन्दै हिन्दी भर्सनको फिल्मलाई नेपाली फिल्म सरह सुविधा दिन नसकिने अडान लिदै आएको थियो । यहीकारणले, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले सामाजिक संजालमा गाली पनि खाए ।

तर, नेपाली फिल्म सरह सुविधा दिन नहुने अडानबाट उनी पछि हटेनन् । जसकाकारण, यो फिल्मका वितरक र निर्माताले १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने भएको छ । साथै, भारतबाट नेपाल फिल्म ल्याउँदा तिर्नुपर्ने २० हजार भन्सार शुल्क पनि वितरकले तिरेका छन् ।

यसले नेपाली फिल्म क्षेत्रमा आगामी दिनमा थिती समेत बसेको छ । विकास बोर्डका अध्यक्ष भुवन केसीको अडानका कारण आगामी दिनमा हिन्दी भाषामा डब हुने नेपाली फिल्म विदेशी फिल्म सरह नेपालमा रिलिज हुने नियम समेत बसेको छ । संभवत, अब यो विवाद आगामी दिनमा निस्कने छैन ।

यो फिल्मको हिन्दी डब नेपालमा रिलिज हुन्छ या हुँदैन भन्ने अन्यौलका कारण थुप्रै मल्टिप्लेक्सले शोज समेत उपलब्ध गराउन सकेका थिएनन् । उनीहरुले, हिन्दी भर्सनका लागि समय रोकेर राखेका थिए ।