‘प्रेमगीत ३’ हिन्दी संस्करणलाई मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

भोली शुक्रबारबाट प्रदर्शन हुँदै छ नेपाली फिल्म ‘प्रेमगीत ३’ । यो फिल्मको हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिदै विकास बोर्डले सेन्सरको सिफारिश गरेको थियो । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणले संचार, सूचना तथा प्रविधि मन्त्रालयको यो निर्णयपछि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

बोर्डले हिन्दी संस्करणलाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि स्पष्टीकरणको लागि बोर्ड अध्यक्ष भुवन केसीलाई मन्त्रालय बोलाएको थियो ।

नेपाली फिल्मलाई किन विदेशी फिल्म भनेर सेन्सरको सिफारिश गरियो भन्ने बिषयमा कुरा गर्ने मन्त्रालयले बोर्ड अध्यक्षलाई बोलाएको थियो । वितरक मनोज राठीले बुधबार मन्त्रालयमा निवेदन पनि दिएका थिए । उनको निवेदनको आधारमा स्पष्ट हुन बोर्ड अध्यक्षलाई छलफलमा बोलाएको हो।

‘प्रेमगीत ३’ मा नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेको नेपाली निर्माता रहेकाले विदेशी फिल्म भन्ने आधार नदेखिएको र स्वदेशी फिल्म नै भन्नुपर्ने सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले बताए ।

सोधपुछका क्रममा अध्यक्ष केसीलाई सबै कुरो जानकारी गराएर नेपाली मान्यताका लागि पहल गर्न पठाएको प्रवक्ता पोखरेलले जानकारी दिए । मन्त्रालयको यो निर्णयपछि अब ‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ ।