बलिउड ट्रेड लेख्छन्–‘कमजोर मार्केटिङले ‘प्रेमगीत ३’ले मल्टिप्लेक्स चेनमा शो पाएन’

भोलीबाट इन्डो नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा रिलिज हुँदैछ । भारतमा पहिलो पटक हिन्दी भाषामा नै डब गरेर रिलिज हुन लागेकाले पनि यो फिल्मप्रति नेपाली दर्शकको उत्साह खुबै छ । यो फिल्मको मेकरले भारतीय अनलाइन बलिउड हंगामालाई उपलब्ध गराएको आँकडामा पनि भारतका ५ सय हलमा यो फिल्म चल्ने उललेख छ ।

फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन १.५ करोडको व्यापार गर्ने विश्वास निर्माता सुभाष कालेको छ । तर, भारतका चर्चित ट्रेड रोहित जैसवालले भने यो फिल्मले भारतका ठूला मल्टिप्लेक्स चेनमा शो पाउन नसकेको भन्दै ट्विट गरेका छन् । यसको मुख्य कारण कमजोर मार्केटिङ र कमजोर ग्राउन्ड जिरो हाइप भएको उनको तर्क छ ।

उनले लेखेका छन्–‘प्रेमगीत ३ भारतभरका राष्ट्रिय चेन मल्टिप्लेक्समा शो पाउन असफल भएको छ । कमजोर मार्केटिङ र निक्कै कमजोर ग्राउन्ड हाइपका कारण इन्डो–नेपाली फिल्मको इनिसियल व्यापारमा असर गरेको छ ।’

भोली भारतभर ७५ रुपैयाँमा फिल्म हेर्न सकिनेछ । यसको प्रत्यक्ष फाइदा बलिउड फिल्म ‘ब्रम्हास्त्र’लाई हुने देखिएको छ । फिल्मले तेश्रो शुक्रबार १२ करोडको व्यापार गर्ने ट्रेडहरुले उल्लेख गरेका छन् । यो फिल्मलाई भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ३ शो दिएको छ । यस्तै, सिनेपोलिसले मुम्बइमा ३ शो उपलब्ध गराउँदा आइनोक्सले १ शो उपलब्ध गराएको छ ।

यो फिल्मको प्रचारका लागि विगत केही महिनादेखि यसका निर्देशक सन्तोष सेन, नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ भारतका विभिन्न राज्यमा पुगिरहेका छन् । उनीहरुले भारतका विभिन्न राज्यमा कन्सर्ट पनि गरेका थिए । फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र घिमिरे भन्छन्–‘नेपाली फिल्मको यत्तिको चर्चा राम्रो हो । तर, हिन्दीका दर्शकलाई हलसम्म ल्याउन भने गाह्रो हुनसक्छ ।’