‘प्रेमगीत ३’मा नयाँ कलाकार मनिष र कृष्टिनाको फितलो अभिनय

शुक्रबार र शनिबार बम्पर व्यापार गरेको फिल्म ‘प्रेमगीत ३’को आइतबार बिहानैदेखि व्यापारमा भारी गिरावट आएको छ । फिल्मको नेगेटीभ प्रतिक्रियाले व्यापारमा भारी गिरावट आएको हो । फिल्मको हाइप जस्तो थियो, त्यो अनुसार दर्शकले फिल्म नपाउँदा नकारात्मक समीक्षा बढी आयो । जसकाकारण, आजबाट फिल्मको व्यापारमा भारी गिरावट देखिएको हो ।

यो फिल्मबाट नेपाली रजतपटमा २ जना कलाकार, मनिष राउत र कृष्टिना गुरुङले प्रवेश गरेका छन् । मनिष फिल्ममा खलपात्रको रुपमा देखिएका छन् भने कृष्टिना नायिकाको रुपमा । कृष्टिनालाई निर्माणपक्षले अडिसनबाट छानेको हो ।
यो फिल्ममा नायिका कृष्टिना गुरुङको अभिनय फितलो छ । उनी, फिल्ममा कतिपय स्थानमा रुँदा दर्शक हाँसेका छन् । कृष्टिनाले यति ठूलो भूमिका पाउँदा पनि आफूलाई बलियो तरिकाले उभ्याउन सकेकी छैनन् ।

संवादकै कुरा गर्दा, नव–कलाकार मनिष राउतको पनि निक्कै फितलो छ । अभिनयमा पनि मनिष धेरै ठाउँमा चुकेका छन् । यसमा, उनको कमजोरी हो या निर्देशकको, यो मेकरले नै जान्ने कुरा भयो ।

तर, पर्दामा हेर्दा मनिष र कृष्टिनाले जसरी फिल्मलाई बोक्नुपथ्र्यो, त्यसमा उनीहरु नराम्रोसँग चुकेका छन् । मनिष राउतले कतिपय ठाउँमा संवाद बोल्दा त दर्शक हाँसेको समेत पाइयो । शुक्रबार र शनिबार दिनभर हलमा देखिएका मनिष दर्शकको प्रतिक्रियाबाट उत्साहित त देखिए । तर, उनले आफ्नो अभिनयमा ठूलो सुधार गर्न नसक्ने हो भने उनका लागि फिल्म क्षेत्र चुनौतीपूर्ण देखिन्छ ।

यस्तै, एउटा ब्रान्ड फिल्मको शिर्ष भूमिकामा काम गर्दा समेत कृष्टिनाले आफूलाई सशक्त रुपमा प्रस्तुत गर्न सकेकी छैनन् । दुबै कलाकारबाट दर्शकलाई ठूलो आशा थियो, तर दुबै जना यसमा नराम्रोसँग चुकेका छन् ।