अदितीलाई ‘बाबरी’बाट बक्स अफिसको प्रेसर

आउँदो शुक्रबार अर्थात ६ दिनपछि नेपाली फिल्म ‘बाबरी’ हलमा लाग्दैछ । यो फिल्ममा नायिका अदिती वुढाथोकीले धिरज मगर र धिरज नाडकरसँग माया साटेकी छिन् ।

यो फिल्मलाई लिएर अदिती दबाबमा छिन् । कारण, फिल्ममा अदितीको परिवारको लगानी छ । एकातिर घरकै फिल्म हुनुले पनि उनीमाथि बक्स अफिसको दबाब थोपरिएको छ । यस्तै, ‘कृ’पछि केही बर्ष फिल्म क्षेत्रबाट टाढा जस्तै देखिएकी अदिती फेरि दर्शकमाझ आएकी छिन् । यहीकारणले पनि आफूले दबाब महशुश गरिरहेको उनी बताउँछिन् ।

अदिती भन्छिन्–‘एकातिर दर्शकले कसरी लिनुहोला भन्ने सोच आउँदोरहेछ । अर्कोतिर, होम प्रोडक्शनको फिल्म भएकाले पनि दबाब महशुश भैरहेको छ । टाउकोमा ठूलै वोझ छ ।’

फिल्म ‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुरेन्द्रले ‘कृ’मा अदितीलाई नै लिएर काम गरेका थिए । यो फिल्म बनाएपछि सुरेन्द्रले अदितीलाई अझै बिशेष भूमिकामा खेलाउने भन्दै ‘बाबरी’ सोचेका थिए ।

फिल्मको गीतसंगीत हिट हुनु, दर्शकले धिरज र अदितीको जोडीलाई प्रतिक्षा गर्नु आदि कारणले पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने संभावना छ । अर्कोतिर, यो फिल्मको बलियो वर्ड अफ माउथ भयो भने दशैंको लामो बिदा फलिफाप हुनसक्छ ।