‘प्रेम गीत ३’ले कहाँ कति कमायो ?

Mero Film

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ ।

देशभरका डेढ सय पर्दाबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार दुई करोड ५० हजार बक्स अफिस ओपनिङ गरेको थियो, भने भारतीय बक्स अफिसमा हिन्दी संस्करणबाट ९२ लाख भारु (नेपाली झन्डै डेढ करोड रुपैयाँ) कलेक्सन गरेको भारतीय समीक्षक तरण आदर्शले जानकारी दिएका छन् । नेपाल, भारत लगायत अन्य थुप्रै देशहरूमा प्रदर्शनमा आएको “प्रेम गीत ३”ले अन्य देशहरुमा पनि फिल्मले राम्रो व्यापार गरेको बताइएको छ ।

भारतमा सिमित शोजहरूका बाबजुत पनि फिल्मले सुखद् व्यापार गरेको आदर्शले उल्लेख गरेका छन् । उनका अनुसार शुक्रबार भारतमा टिकट दर पनि कम रहेको थियो ।

फिल्मले पहिलो दिन विश्वभरबाट ७ करोड ७५ लाख रुपैयाँभन्दा बढी कमाएको वितरक टिमले बताएको छ । यस्तै अमेरिकामा ३० हजार १२ डलर, क्यानडामा ३ हजार ८७८ डलर, बेलायतमा १ हजार ५७५ यूरो, अष्ट्रेलियामा ५६ हजार ८९५ अष्ट्रेलियन डलर कमाइ गरेको छ। यसबाहेक अरु विभिन्न ठाउँमा गरी कुल ७ करोड ७५ लाख कमाइ गरेको छ।

फिल्मले शनिबार अझ बढी ब्यापार गरेको वितरकहरूले बताएका छन् । ‘शुक्रबारको तुलनामा फिल्मले शनिबार निकै राम्रो ब्यापार गरेको छ । शनिबार भएको ब्यापार विवरण भने आज साँझमात्रै थाहा हुने फिल्मका एक वितरकले जानकारी दिए’ ।

फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी संस्करणमा गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, जीवन भट्टराई, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्रीलगायत कलाकारको अभिनय छ।


Leave a Reply

Your email address will not be published.