हिन्दी ‘प्रेमगीत ३’ हिन्दी संस्करणलाई सेन्सर अनुमति

चलचित्र विकास बोर्डले अन्ततः आरोप-प्रत्यारोपछि हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई नेपाली फिल्म मान्दै सेन्सरका लागि अनुमति दिएको छ।

अनुमति दिएसँगै ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)बाट नेपालमा प्रदर्शन हुने बाटो खुलेको छ । यस अघि हिन्दी संस्करणको आवश्यक कागज नपुगेको भन्दै सेन्सर रोकिएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको गरेको हो ।

यसअघि हिन्दी डब भर्जनलाई नेपाली मान्ने कि विदेशी भन्ने कुरामा बोर्ड र निर्माण पक्षबीच विवाद चलिरहेको थियो । तर सञ्चार मन्त्रालयले बिहीबार यसमा हस्तक्षेप गर्दै बोर्डलाई नेपाली कलाकार र प्राविधिकको संलग्नता रहेको र नेपाली निर्माण कम्पनीले निर्माण गरेकाले यसलाई नेपाली फिल्म सरह नै व्यवहार गर्न निर्देशन दिएको थियो ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले नेपाली फिल्मलाई भाषाकै कारण विदेशी मान्यता दिन नहुने भन्दै आपत्ती पनि जनाएका थिए। अब हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुने भएको छ । सेन्सरपछि आजै बेलुकादेखि हिन्दी ‘प्रेमगीत ३’ को बुकिङ पनि खुलाउने तयारी निमार्ण पक्षको रहेको छ ।

यसको नेपाली संस्करण हाल प्रदर्शन भइरहेको छ। नेपाली संस्करणलाई भने मिश्रित प्रतिक्रिया आइरहेको छ। तर  ‘प्रेमगीत ३’को जती हल्ला भयो त्यसअनुसार फिल्मप्रति दर्शकको आशा निराशामा बदलिन सक्छ ।

हिन्दी भाषामा डबिङ गरिएकाले केही हदसम्म फिल्ममा कलाकारले बोल्ने संवादमा दम होला । तर, नेपालीमा सन्तोष सेन र उनको टिम निक्कै चुकेको छ ।