‘प्रेमगीत ३’ले चिनाएको नेपाल

भारतमा फिल्म ‘प्रेमगीत ३’ चल्ने चर्चासँगै त्यहाँका युट्युब च्यानलमा यसको दृश्यलाई लिएर ठूलो चर्चा भयो । कहिले नेपाली फिल्मको चर्चा नै नगर्ने धेरै च्यानलले यसपटक नेपाली कलाकार, नेपाली फिल्म र नेपालको सुन्दरताको बयान गरे ।

यो बयान फिल्म चलेपछि पनि चलिरहेको छ । शुक्रबारदेखि भारतका केही हलमा रिलिज भएको यो फिल्मको व्यापारबारे विभिन्न खालका फरक–फरक आँकडा सार्वजनिक भैरहेका छन् । हामी आँकडातिर नजाऔं । तर, यो फिल्मलाई लिएर जती भारतीय दर्शकले फिल्म हेरे, उनीहरुले बोलेको मुख्य कुरा यसको दृश्यको हो ।

जी म्युजिक जस्तो विश्व चर्चित युट्युब च्यानलमा नेपाली फिल्मका दृश्यहरु कुदेका छन् । ती दृश्यहरु हेरेका भारतीय तथा अन्य देशका नागरिकका लागि यहाँको सुन्दरताले लोभ्याएको छ । हलिउड वा बलिउडका फिल्मलाई हेर्ने हो भने, उनीहरु हिउदेखि पहाड एउटा कोठाभित्र कल्पना गर्छन् । त्यसलाई भीएफएक्सको मार्फत निर्माण गर्छन् र कृत्रिम दुनियाँमा दर्शकलाई लोभ्याउँछन् ।

‘प्रेमगीत ३’मा देखाइएका दृश्य वास्तविक हुन् भन्ने सुन्दा धेरै भारतीय पत्रकार अचम्मित भए । बलिउडकर्मीका लागि नेपालमा यति मनोरम दृश्य छन् भन्ने कमै मात्र थाहा थियो होला । ‘प्रेमगीत ३’का निर्माताले यसका लागि ठूलो मिहिनेत गरेका छन्, तर नेपाल सरकारले अरबौ खर्च गरेर पनि नसक्ने प्रचार नेपाली फिल्मले सहजै गरिदिएको छ ।

अब, यो फिल्मका कारण विदेशी फिल्मको छायांकन नेपालमा हुने संभावना बढेको छ । विदेशी नागरिकहरु मनाङ, मुस्ताङका रमणीय दृश्यमा रमाउन नेपाल आउने पक्का छ । किनकी, यसअघि पनि केही नेपाली फिल्मका कारण यी लोकेशनमा आन्तरिक पर्यटक बढेको उदाहरण छ ।

निर्देशक सन्तोष सेन र उनको टिमको मिहिनेत तारिफयोग्य छ । किनकी, विश्व बजारमा नेपाली फिल्म पनि छ हैं भनेर चिनाउने मात्र काम उनले गरेका छैनन्, नेपालमा यति सुन्दर लोकेशन छन् भनेर पनि उनले चिनाएका छन् ।

विगत केही दिनदेखि नेपाल, भारतसँग विश्वका थुप्रै देशमा नेपाली फिल्मको चर्चा छ । नेपाली फिल्म रेगुलर नचल्ने हलमा नेपाली कलाकारका अनुहार झल्किएका छन् । पक्कै पनि यसको दुरगामी प्रभाव पर्नेछ ।