विकास बोर्ड एउटा कलाकार वा निर्माताको व्यापारिक सफलताको पछि लाग्दैनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्ड कुनै एक जना कलाकार, निर्माता वा फिल्मको व्यापारिक सफलताको पछि नलाग्ने स्पष्ट पारेका छन् । आज काठमाडौंको चलचित्र विकास बोर्डमा आयोजित ‘नवदुर्गा सम्मान’ कार्यक्रममा आफ्नो भनाई राख्दै भुवनले चलचित्र विकास बोर्डले फिल्म क्षेत्र, कलाकार र प्राविधिकको हितमा काम गर्ने बताएका हुन् ।

फिल्म ‘प्रेमगीत ३’को टिमलाई लक्षित गर्दै भुवनले चलचित्र विकास बोर्ड भने देशको कानुन, नीति र नियम अनुसार चल्ने स्पष्ट पारेका हुन् ।

उनले, आफूलाई ४० बर्ष फिल्म क्षेत्रमा योगदान गरेको भन्दै नेपाल सरकारले विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको भन्दै फिल्म क्षेत्रको हितका लागि काम गर्ने बताए । उनले, विकास बोर्डले नेपाली फिल्म क्षेत्रले भोगेको समस्याहरुको बिषयमा सधै नै सचेत रहेको पनि स्पष्ट पारे ।

भुवनले, कतिपय कुराहरु नियम, कानुनका कारण फिल्मको विकासका लागि गर्न चाहेका कामहरु नियम, कानुनलाई सच्याउँदै अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरे ।