‘नालापानी’लाई एक साता सोलो रिलिज गर्न दिनुपर्छः नवल खड्का

हुनत, कलाकार तथा निर्माता नवल खड्कामा मिडिया मोह खुबै छ । उनी, चलचित्र निर्माता संघको अध्यक्ष हुनु अगाडि पनि मिडियाबाजी गर्न माहिर थिए । झन्,अहिले चलचित्र निर्माता संघको अध्यक्ष भएपछि संघलाई पावरफूल रुपमा देखाउन उनी लागिपरेका छन् ।

नवलले हिन्दी भाषाको प्रेमगीत ३ नेपालमा रिलिज गर्न नहुने, यसरी रिलिज गर्दा नेपाली भाषा संकृतिमाथि अतिक्रमण हुने तर्क गरे । यो तर्कले उनलाई चर्चामा ल्याइदियो । फिल्मको टिमले उनको चर्को आलोचना गर्यो । फिल्मीकर्मीमा उनीप्रति कतै समर्थन र कतै विरोध देखियो ।

उनै, नवलले कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नालापानी’लाई सोलो रिलिज गर्न दिनुपर्ने तर्क गरेका छन् । आजा यो फिल्मको ट्रेलर रिलिज कार्यक्रम थियो । सो कार्यक्रममा बोल्दै नवलले चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा राखिसकेकाले पनि यो फिल्मलाई सोलो रुपमा रिलिज गर्न दिनुपर्ने तर्क राखे । उनले भने–‘हामी हाम्रै भूगोल, हाम्रै भाषा, हाम्रै संकृति अतिmक्रमण गरेर सिध्याउने लाइनमा उभिरहेका छौं । यो एकपटक सोचौ र नालापानी जस्तो फिल्मलाई नेपालीको गौरवको गाथाको रुपमा हेरौं । यो एउटा इतिहास हो । यो फिल्मलाई कसरी सफल पार्नुपर्छ, यसलाई कसरी तिन करोड नेपालीको फिल्म बनाउने भन्ने बिषयमा सबै जना लाग्नुपर्छ ।’

उनले, ‘नालापानी’ जस्ता फिल्म सफल नहुने हो भने भोलीका दिनमा देशभक्तीपूर्ण फिल्महरु नबन्ने स्थिती आउँछ । यसैले, यो फिल्मलाई एक साता सोलो रिलिजको अवसर दिनुपर्छ ।