सेन्सर बोर्डप्रति निश्चलको आक्रोश–‘नियम जाओस् टुकुचामा’

चलचित्र सेन्सर बोर्डका कर्मचारीले परिवारका सदस्य समेत राखेर हिन्दी फिल्म ‘उचाई’को सेन्सर गरेको भिडियो संचार माध्यममा भाइरल भएपछि यतिबेला यसले चर्चा पाइरहेको छ । कुनै पनि फिल्मको सेन्सर गर्दा सेन्सरका पदाधिकारी बाहेक अरु बस्न पाइदैन । किनकी, फिल्मको सेन्सर गर्नु भनेको हरेक कुरामा संवेदनशिल भएर गर्नु हो ।

तर, आजबाट रिलिजमा आएको बलिउड फिल्म ‘उचाई’को सेन्सरमा सेन्सर बोर्डका पदाधिकारी मात्र होइन, उनीहरुका आफन्त र परिवारसमेत थिए ।

यो खबर बाहिर आएपछि निर्देशक निश्चल बस्नेतले कडा प्रश्न उठाएका छन् । उनले लेखेका छन्–‘वाह, चलचित्र सेन्सर बोर्ड । संचार मन्त्रालयमा भएको छलफल, निर्णय झलझल आद आयो । पदाधिकारीहरु बाहेक अरु कसैलाई फिल्म सेन्सर हुँदा राखिने छैन भन्नुभएको थियो । २०१२ मा ‘लुट’ सेन्सर हुँदा स परिवार बच्चाबच्चीसँगै राखेर पदाधिकारीहरुले सेन्सर गर्नुभएको थियो । अनी मलाई भाषण दिनुभएको थियो ।’

निश्चल अगाडि लेख्छन्–‘२०२२ मा पनि उचाई सेन्सर गर्न सपरिवार नै बस्नुभएछ । नियम जाओस् टुकुचामा । अब हेर्नुछ मलाई को कस्को जागिर जान्छ कि, स्पष्टिकरण मागेर छोडिनेछ । संचार मन्त्रालयले आफ्ना पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डलाई कडा कारवाही गर्छ कि गर्दैन ? जुन जोगी आएपनि कान निरिएका….दुइटै कान ।’