राप्रपाका कार्यकर्तासँग राजेश हमालले फोटो खिच्न मानेनन्

शनिबार बिहान चलचित्र विकास बोर्डको परिसरमा फिल्म ‘सरी मम’को गीत रिलिज कार्यक्रम थियो । सो कार्यक्रमका प्रमुख अतिथीको रुपमा नायक राजेश हमाललाई बोलाइएको थियो । प्राविधिकहरुले बनाएको फिल्म भएकाले पनि राजेश हमाल कार्यक्रममा पुगे ।

राजेश हमाल विकास बोर्डको परिसरमा बसिरहँदा बाहिर भने राप्रापाका लागि भोट माग्दै उम्मेदवारहरु माइकिङ गरिरहेका थिए । सोही समयमा हमाललाई बोर्ड परिसरमा देखेपछि केही कार्यकर्ता भित्र प्रवेश गरे । राजेश हमालसँग उनीहरुले फोटो खिच्न आग्रह गरे । तर, राजेश हमालले मानेनन् ।

विशेषगरि, राजेश हमालसँग केही महिलाहरुले फोटो खिच्न खोज्दा उनी उठेका थिए । सुरुवातमा राप्रपाको चुनाव चिन्ह भएको ब्यानरसहित फोटो खिच्न लागेको महिलाहरुले पछि त्यो लुकाए । तर, पनि राजेश हमालले असहज माने । पछि ब्यानर लुकाएर फोटो खिच्न खोज्दा पनि हमालले मानेनन् र उनी विकास बोर्ड हल भित्र गए । हमाल हल भित्र गएपनि केही महिलाहरु भने उनीसँग तस्वीर खिच्न कुरिरहेका थिए । तर, हमाल बाहिर ननिस्किएपछि उनीहरु आफ्नो बाटो लागेका थिए ।

नेपाली फिल्मका यी नायक राजनीतिबाट टाढै रहन चाहन्छन् । बेलाबखत केही कार्यक्रममा सहभागी हुँदा हमालको चर्चा पनि हुने गरेको छ । यहीकारणले पनि राजेश हमालले कुनै एक पार्टीका कार्यकर्तासँग तस्वीर खिचाएर आफूलाई विवादमा नल्याउन चाहेको हुनुपर्छ ।

उसो त, राजेश हमाल बेलाबखत राजनीतिमा आउने चर्चा पनि चल्छ । तर, उनले अझै पनि राजनीतिमा आउने मन बनाएको भने देखिन्न । कतिपयले भने राजेश हमाल कुनै दलको नेता भन्दा पनि राजदुत हुन चाहेको वुझेका छन् ।