१६ करोड बनाइएको फिल्मको ४ सय करोड कमाइसँगै भारतीय फिल्म क्षेत्रमा कीर्तिमान

ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्सअफिसमा धमाला मच्चाइरहेको छ ।

पौराणिक कथामा आधारित यो कन्नड फिल्म कांताराले आफ्नो प्रदर्शनको ५३ दिन पूरा गरेको छ। सेप्टेम्बर ३० मा प्रदर्शनमा आएको फिल्मको आज मंगलवारबाट ५३औँ दिन पूरा भएको हो।

यसबीचमा कांताराले दैनिक करोडमा कमाइ पनि गरिरहेको छ। कांताराको ५३ औँ दिनको कीर्तिमान निकै लामो समयसम्म पनि नतोडिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। करिब ३०० हलमा कांताराले ५३ दिन पूरा गरेको हो।

तेलुगु, हिन्दी र मलयालम भाषामा डब भएको फिल्मले हालसम्म विश्वव्यापी कमाई ४०० करोड भारुको ग्रस कलेक्सन गरेको छ। अब छिटै फिल्मले ५ सय करोड माथी कमाउने आकलन गरिएको छ। हाल पनि विश्वभर करिब एक हजार हलमा कांतारा प्रदर्शनमा छ।

विशेषगरि, यो फिल्मको कथावस्तुले दर्शकको मन छोएको छ । स्थानीय संकृतिलाई यो फिल्मले गज्जबसँग प्रस्तुत गरिएको छ ।

भगवान् र जंगलको कनेक्शन, गाउँको संकृतिलाई फिल्मले जुन तरिकाले प्रस्तुत गरेको छ त्यो गज्जब छ । यस्तै, फिल्मको क्लाइमेक्सको पनि खुबै चर्चा भैरहेको छ । फिल्मको क्लाइमेक्समा जुन तरिकाले मेकरले सस्पेन्सका साथमा संकृति, परम्परा र रितिरिवाजलाई जोडेको छन् त्यसले दर्शकलाई फिल्म हेर्न आकर्षित गर्यो । फिल्म मनोरञ्जनको साधन मात्र होइन, देशको भाषा, संकृतिलाई विश्व बजारमा पुर्याउन सक्ने शक्तिशाली माध्यम पनि हो ।

फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । फिल्म केवल १६ करोड भारुमा बनाइएको हो।