नेपाली कलाकारः चुनावमा तात्ने, अरु बेला निदाउने

नेपाली कला क्षेत्रका केही कलाकारहरुले यसपटक विभिन्न पार्टी वा स्वतन्त्र पदबाट निर्वाचनमा होमिने निर्णण् गरे । देशभर यूवाहरुको जनलहर आइरहेको समयमा कलाकारहरुको मत परिणाम भने निराशाजनक छ । नायिका रेखा थापादेखि गायिका कोमल वली, कमेडियन हिमेश पन्तसम्मको अवस्था कमजोर छ ।

उसो त, यो निर्वाचनमा भोट हाल्दै गर्दा नाम चलेका कलाकारहरुको राजनीतिप्रति ठूलो रुची देखियो । नायक राजेश हमालले यसपटक निर्वाचनमा भोट हाल्दै गर्दा आउँदो चुनावमा आफूलाई उम्मेदवारको रुपमा देख्न पाउने तर्क गरे ।

हमालको संकेत अर्को निर्वाचनमा कुनै न कुनै पार्टीमा लागेर निर्वाचन लड्ने थियो । हुनत, राजेश हमालले राजनीति गर्छु भन्न थालेका बर्षौ भैसक्यो । श्रोतका अनुसार, यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापना गर्दै गर्दा हमालसँग पनि कुरा गरेका थिए ।

तर, हमालले मन बनाएनन् । बरु, आगामी ५ बर्षको भाका दिए । हमालले फिल्म निर्देशन गर्ने र राजनीतिमा आउने कुरा जहिले पनि गर्छन् । तर, यी दुबै कुरा पुरा भएको छैन ।

कलाकार निर्मल शर्मा पनि अर्को पटक निर्वाचन लड्ने गरि तयारी थाल्ने बताउँछन् । राजनीतिमा भन्दा सामाजिक काममा सक्रिय शर्माको पनि निर्वाचनको जोश हो या वास्तविकता, पछि नै थाहा हुनेछ । नायिका करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश त गरिन् । तर, उनलाई यो पटक पार्टीले प्रत्यक्ष वा समानुपातिक कतै पनि पत्याएन । करिश्माले पनि आउँदो निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरेकी छिन् ।

यो पटक हरेकजसो कलाकारले निर्वाचनमा भोट दिदै गर्दा राजनीतिमा आउने वाचा गरेका छन् । तर, उनीहरु निर्वाचन पछि भने सुस्ताउँछन् । बर्षौसम्म कुनै तयारी नै गर्दैनन् । फेरि, निर्वाचन आएपछि सलबलाउँछन् र चुनाव लड्ने तर्क गर्छन् ।