रेखादेखि कोमल ओलीसम्म, कुन कलाकारको मत परिणाम कस्तो ?

प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा दर्जन हारहारीका कलाकारहरु होमिएका छन् । दर्शन बढी कलाकारले निर्वाचनमा भाग लिइरहँदा उनीहरुको परिणाम भने अपेक्षित आइरहेको छैन । अहिलेसम्म, निर्माता मधुकुमार श्रेष्ठले धादिङ क्षेत्र नम्बर १, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट जित हासिल गरेका छन् । उनी बाहेक अन्य कलाकारको अवस्था कमजोर छ ।

निर्वाचनमा जित निकाल्छिन् भनेर अपेक्षा गरिएको नायिका रेखा थापाको अवस्था कमजोर छ । हालसम्म उनले ३ हजार ७ सय ३९ मत ल्याउँदै तेश्रो स्थानमा छिन् । राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी रेखाको जित्ने संभावना कम छ ।

यस्तै, निर्माता रोज राठाले प्यूठान प्रदेश सभा ख बाट उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस पार्टीबाट उम्मेदवारी दिएका रोजले १३ हजार १ सय २३ मत प्राप्त गरेका छन् । उनी हालसम्म दोश्रो स्थानमा छिन् । यस्तै, नेकपा एमालेबाट दाङ ३ बाट प्रतिनिधी सभाको उम्मेदावर बनेकी गायिका कोमल वलीले ९ हजार ९ सय ८ मत प्राप्त गरेकी छिन् । उनी पनि दोश्रो स्थानमा छिन् ।

प्रतिनिधी सभा, सिरहाको क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मुरलिधर मिझार १९५ मत मात्र प्राप्त गर्न सफल छन् । उनी चौथो स्थानमा छन् । यस्तै, गायक संजयमान श्रेष्ठले काठमाडौं प्रतिनिधी सभा क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । तर, उनले ५७७ मत मात्र ल्याउन सफल भए । उनी पराजित भएका छन् ।

कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका लागि उम्मेदवारी दिएका थिए । ६ हजार ३ सय ८५ मत प्राप्त गर्दै उनी तेश्रो स्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनाइएको थियो ।

कलाकार राज तिमिल्सिनाले काठमाडौं, क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट हाम्रो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । उनी पाँचौ स्थानमा छन् । उनले ९ सय २३ मत प्राप्त गरेका छन् । यस्तै, फिल्मीकर्मी मुधसुदन पाठक हाम्रो नेपाल पार्टीबाट काठमाडौंमा प्रतिनिधी सभाको उम्मेदवारी दिएका थिए । उनी, ३ सय ६४ मत प्राप्त गर्दै १० औं स्थानमा छन् ।

निर्देशक मनोज पण्डितले काभ्रेपलाञ्चोक, प्रतिनिधी सभा निर्वाचन नम्बर क्षेत्र २ बाट उम्मेदवारी दिएका थिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले ५८ मत प्राप्त गर्दै आठौं स्थानमा छन् । यस्तै, चलचित्रकर्मी राम बहादुर सुबेदीले दोलखा, प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । उनी पनि नजितामा निक्कै पछि छन् ।

कलाकार सम्राट सापकोटाले नेपाल सुशासन पार्टीबाट काठमाडौं, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । २ हजार १ सय १३ मत ल्याउँदै उनी चौथो स्थानमा छन् । गायक मिलन लामाले चितवन प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । उनी, ५५३ मत ल्याउँदै चौथो स्थानमा छन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।

वितरक तथा कलाकार करण श्रेष्ठ क्रेजीले पनि काठमाडौं, १ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उम्मेदवारी दिएका उनले ६७ मत प्राप्त गर्दै नवौं स्थानमा छन् ।