‘उचाई’ हेर्नुहोस्, सगरमाथाको आधार शिविर जाने अवसर जित्नुहोस्

भोलीबाट तेश्रो सातामा प्रवेश गर्न लागेको बलिउड फिल्म ‘उचाई’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ । दोश्रो सातासम्म आइपुग्दा पनि फिल्मलाई लिएर दर्शकको उत्साह बलियो छ । यो फिल्म हेरेका अधिकांश नेपाली दर्शकले यसको कथावस्तु र नेपालको सुन्दर दृश्यलाई मन पराएका छन् । हरेक नेपालीले एकपटक यो फिल्म हेर्नैपर्ने प्रतिक्रिया फिल्म हेरेका दर्शकको छ ।

यसैबिच, यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने नयाँ मौका दिने भएको छ । यस्तै, फिल्म हेर्दा कलाकारहरु अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्न पाउने अवसर समेत वितरक कम्पनीले दिने भएको छ ।

यो फिल्म हेरेको टिकट र हेरिएको हलको नाम समेत वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ । यो साता फिल्म हेर्ने दर्शकमध्ये एक जनाले यो अवसर पाउनेछन् ।

सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी लगायतका कलाकारको अभिनय छ । आफ्नो साथीको सपना पुरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने ३ पाका पुरुषहरुको कथामा यो फिल्म बनेको छ ।

दोश्रो हाफमा नेपाललाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको फिल्मले सगरमाथालाई भगवान्को रुपमा चित्रित गरेको छ । यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको भन्दै पर्यटन बोर्डले यसको टिमलाई सम्मान गर्ने तयारी समेत गरेको छ ।