चुनावमा कलाकारः पार्टीमा सक्रियलाई जनताले पत्याए, बिचमा प्रवेश गर्नेले हारे

यसपटकको निर्वाचनमा दर्जन कलाकार विभिन्न पार्टी र स्वतन्त्र रुपमा होमिएका थिए । तर, नाम चलेका कलाकारलाई नै दर्शकले पत्याएनन् । यो चुनावमा प्रदेश सभामा निर्माताद्धय रोज राणा र मधुकुमार श्रेष्ठले जिते । यी दुबै निर्माताले नेपाली कांग्रेस पार्टीबाट टिकट पाएका थिए । दुबैले निर्वाचनमा जनताको मन पनि जिते ।

यी दुबै जना केही बर्ष अगाडि वा केही महिना अगाडि पार्टीमा प्रवेश गरेका व्यक्ति होइनन् । न, उनीहरु पार्टी परिवर्तन गर्दै हिड्ने व्यक्ति हुन् । दुबै लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा राजनीति गरिरहेका छन् । उनीहरुले आफ्नो क्षेत्रमा प्रभाव पनि पारेका छन् । यसैले, पनि उनीहरुलाई स्थानीय जनताले पत्याए ।

यो पटक नायिका रेखा थापाले निर्वाचन जित्ने अपेक्षा गरिएको थियो । तर, रेखाले नराम्रोसँग हार ब्यहोरेकी छिन् । उनको मत १० हजार पनि कट्न सकेन । रेखा केही बर्ष अगाडि मात्र राप्रपामा प्रवेश गरेकी हुन् । रेखा जुन पार्टीको क्रेज जनतामा बढेको जस्तो देखिन्छ, सोही पार्टीमा प्रवेश गर्न माहिर छिन् ।

यसैले, पनि उनको राजनीतिमा देखिएको दोहोरो चरित्रलाई जनताले अनुमोदन गरेनन् । मोरङ ३ बाट निर्वाचन लडेकी रेखा पहिले माओवादी, त्यसपछि कमल थापाको राप्रपामा आवद्ध भइन् । यसले, व्यक्तिमा सिद्धान्त नभएको देखाउँछ । सिद्धान्त कमजोर बन्दा जनताले पत्याउँदैनन् पनि । पर्दामा सेलिब्रिटी बन्नु र राजनीति गर्नुमा फरक छ ।

गायिका कोमल वली पनि पराजित भइन् । उनी दाङ क्षेत्र नम्बर ३ बाट पराजित भएकी हुन् । ७ हजार भन्दा बढी मतान्तरले उनी नेपाली कांग्रेसका उम्मेदवारसँग हारिन् ।

कोमल वलीको पनि राजनीतिमा एकरुपता देखिदैन । उनी पनि केही बर्ष अगाडि नेकपा एमाले पार्टीमा आवद्ध भएकी हुन् । उनी राष्ट्रिय सभाको सदस्य त बनिन् तर प्रतिनिधी सभामा चुनिन भने सकिनन् ।

यी दुई ठूला नामबाहेक अन्य केही फिल्मीकर्मीको पनि राजनीतिमा ठूलो योगदान छैन । बरु, उनीहरु अवसर जता पाइन्छ त्यतै दौडने खालका छन् । यस्ता, फिल्मीकर्मीलाई जनताले नपत्याएको देखिन्छ ।