सलोन–करिश्माको मेहेन्दीमा भूवन–जीया र पूजा–युद्धको जोडी

निर्देशक शोभित बस्नेत र उनको परिवारलाई नायक सलोन बस्नेतको बिहेले छोएको छ । एक महिनाबाट सुरु गरिएको तयारीको रौनक शनिबारबाट अझै जमेको छ । शनिबार पातलेबन रिसोर्टमा सलोन बस्नेत र उनकी प्रेमिका करिश्मा केसीको मेहेन्दी सेरेमोनी आयोजना गरियो । उक्त सेरेमोनीमा नेपाली फिल्म क्षेत्रका थुप्रै हस्तीहरु पुगे ।

शोभित र सलोनको फिल्म क्षेत्रसँग निक्कै राम्रो सम्बन्ध रहेका कारण पनि उनीहरुको यो भव्य कार्यक्रममा फिल्म क्षेत्रका थुप्रै हस्तीहरुलाई देख्न पाइनेछ । सलोन र करिश्मा भोली बिहे गर्दैछन् । मंसिरको १४ गते हायात होटलमा करिब ७ सय अतिथीहरुलाई बोलाएर शोभितले पार्टी दिदैछन् ।

सलोन र करिश्माको मेहेन्दी सेरेमोनीमा नायक भूवन केसी आफ्नी प्रेमिका जिया केसीको साथमा पुगे । जिया र भूवन विगत केही बर्षदेखि सार्वजनिक कार्यक्रममा निर्धक्क पुग्ने गरेका छन् । अझ, भूवनले त जीयासँग बिहे गर्ने कुरा समेत गरिसकेका छन् ।

यस्तै, यो समारोहमा नायिका पूजा शर्मा र उनका प्रेमी युद्ध बानियाँ पनि पुगे । युद्ध र पूजाले सलोनको मेहेन्दी कार्यक्रममा खुबै रमाइलो गरे । युद्ध र पूजा मिडिया देखिने कार्यक्रममा कमै मात्र पुग्ने गर्छन् । तर, यसपटक भने उनीहरु यो समारोहमा निर्धक्क रुपमा रमाइरहेका थिए ।