निर्वाचनमा को–को कलाकार पराजित भए ? क-कस्को जमानत पनि जोगिएन ?

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा यस पटक दर्जनभन्दा बढी कलाकार उम्मेदवार थिए । दर्जन कलाकार विभिन्न पार्टी र स्वतन्त्र रूपमा होमिएका थिए । यति बेला निर्वाचनको मत परिणाम पनि अन्तिम चरणमा भइरहेको छ ।

यस पटकको निर्वाचनले फिल्म क्षेत्रका दुई जनाले निर्वाचितका रूपमा उभ्याउन सफल भएका छन्, भने कहिले हार व्यहोरे त केहीले जमानतसमेत जोगाउन समेत सकेनन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

फिल्म निर्माता रोज राणा र मधुकुमार श्रेष्ठ यस पटक आफूलाई सांसदका रुपमा चिनाउन सफल भए । रोज राणाका रूपमा परिचित सरोज थापा प्युठान (ख)बाट विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनले २२ हजार ५१९ मत ल्याएर एमाले उम्मेदवार हरिप्रसाद रिजाललाई पराजित गरे ।

यस्तै, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ धादिङ १ (क) बाट विजयी भएका छन् । उनले एमाले उम्मेदवार रमेश आचार्यलाई पराजित गरेका हुन् । कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठले १७ हजार ८३२ र आचार्यले १६ हजार ५३८ मत प्राप्त गरे ।

अझ यी दुई भन्दा केही चर्चित दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी गायिका कोमल वली पराजित भइन् । एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी वली सात हजार ८१० मतान्तरले कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित हुन पुगिन् ।

यो चुनावमा अभिनेत्री रेखा थापा पराजित हुनबाट अछुतो रहिनन् । मोरङ ३ बाट निर्वाचन लडेकी रेखा चुनावी प्रचारताका व्यापक चर्चामा रहेकी थिइन् । रेखाको ‘इन्ट्री’ले यसपटक उनीहरूको प्रतिस्पर्धामा चुनौती थपेको आकलन थियो । प्रचारका क्रममा देखिएको माहोल मतमा परिणत हुन नसक्दा मतगणना आउन सुरु भएदेखि नै रेखा तेस्रो स्थानमा सीमित भइन् । उनी कांग्रेस उम्मेदवार सुनीलकुमार शर्मासँग करिब ३८ हजार मतान्तरसहित पराजित भइन् ।

कमेडी च्याम्पियनका विजेता पन्तलाई चुनावी परिणामले भने नराम्रो निराश बनायो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेशले आफूले ल्याएको मत मासु र भातको बदलातमा नल्याएको समेत टिप्पणी गरे । धादिङ २ बाट उम्मेदवार बनेका हिमेश एकीकृत समाजवादीका नेता बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग पराजित हुँदै तेस्रो स्थानमा चित्त बुझाउन पुगे । पाण्डे ३५ हजार ९३४ मतसहित विजयी हुँदा हिमेशले १२ हजार ४७५ मत ल्याए । उनले सामाजिक सञ्जाल फेशबुकमा हलेको स्टाटसको सर्वत्र आलोचना भएपछि उनले यो स्टाटसलाई बरु सम्पादन गर्न भ्याए ।

कलाकार सम्राट सापकोटा पनि काठमाडौं १ मा प्रदेश (क)बाट पराजित भएका छन् । यो क्षेत्रमा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित भए । नेपाल सुशासन पार्टीका तर्फबाट उम्मेदवारी दिए सापकोटाले २१ सय १३ मतसहित चौथो स्थानमा रहे।

यी नाम चलेका उम्मेदवार बाहेक अन्य केही फिल्मीकर्मीलाई जनताले झनै नपत्याएको देखिन्छ । प्रतिनिधी सभा, सिरहाको क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मुरली मिझार (मुरलीधर) सात सय ८२ मत मात्र प्राप्त गर्न सफल भए। आफ्नै गृहक्षेत्रबाट उम्मेदवारी दिएका मुरलीधरले पनि जमानत जोगिएन ।

फिल्म निर्देशक मनोज पण्डित पनि संसदीय निर्वाचनमा पराजित भए । एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले एक सय ७३ मत मात्रै ल्याए । बाँस्कोटाले ७० करोड भ्रष्टाचार गरेको आरोपलाई चुनावको मुख्य एजेन्डा बनाएर हराएर देखाउने भनेर हिँडेका पण्डितले जमानत जोगाउन सकेनन्

हास्य सिरियल ‘सक्किगो नि’मा ‘सितेबा’को चरित्रमार्फत दर्शकमाझ प्रिय रहेका कलाकार मधुसूदन पाठकले जमानतसमेत जोगाउन सकेनन् । काठमाडौँ ५ मा चुनाव लड्न पुगेका उनले भने ३६४ मत मात्रै ल्याए । उनी लौरो अभियान चलाएको हाम्रो नेपाल पार्टीका तर्फबाट उम्मेदवार थिए । यो क्षेत्रमा कांग्रेस नेता प्रदीप पौडेल १५ हजार २६९ मत ल्याएर विजय भए ।

गायक सञ्जय श्रेष्ठको पनि जमानत जफत भएको छ । उनले पाँच सय ७७ मत मात्रै ल्याए । राप्रपाले टिकट नदिएपछि काठमाडौँ ६ बाट स्वतन्त्र उम्मेदवारी दिए पनि यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित भए । निर्वाचनको बेला श्रेष्ठको उम्मेदवारीले चर्चा हुने गरेको थियो।

काठमाडौँ–१ (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार रहेका वितरक तथा कलाकार करण श्रेष्ठ (क्रेजी)ले एक सय मत पनि ल्याउन सकेनन् । यो क्षेत्रमा कांग्रेसका सुरजचन्द्र लामिछाने चार हजार पाँच सय १० मतसहित विजयी हुँदा उनले ६७ मत मात्रै ल्याए । उनको पनि जमानत समेत जोगिएन ।