सलोनको बिहेमा अनमोलको २ घन्टाः जता अनमोल त्यतै भिड

आफ्ना प्रिय साथी सलोन बस्नेतको बिहेमा चन्द्रागिरीसम्मको यात्रा गरेका नायक अनमोल केसी २ घन्टा पनि बसेनन् । उसो त, अनमोल कुनै फिल्मीकर्मीको बिहेमा सहजै पुग्दैनन् । तर, सलोन उनको निक्कै नजिकको साथी र सहकर्मी भएकाले पनि उनले निम्तोलाई अस्विकार गर्न सकेनन् ।

पिता भूवन केसीसँग ३ बजेतिर पुगेका अनमोल बिहेमा २ घन्टा पनि मुश्किलले बसे । बिहेमा पुगे लगतै उनले सलोन र करिश्मा केसीलाई बधाई दिए । सलोनलाई जुरुक्कै बोकेर गहिरो मित्रताको आभाष दिलाए ।

यसपछि अनमोल, सलोन, नायक सलिनमान बानियाँ, नायक भूवन केसीहरु खाना खान पुगे । अनमोल पुगेपछि बिहेमा पुगेका र चन्द्रागिरी घुम्न आएको भीडले उनलाई छाड्दै छाडेन । जसलेगर्दा पनि सलोनका पिता शोभित बस्नेतले कलाकारका लागि छुट्टै बन्द कोठाको व्यवस्था गरिदिए ।

अनमोलसँग तस्वीर खिच्न र उनीसँग टिकटक बनाउन उनका फ्यान, बिहेका अतिथीले कुनै कसर बाँकी राखेनन् । अनमोलले पनि सकेसम्म कसैलाई निराश बनाएनन् । कालो पहिरनमा पुगेका अनमोल २ घन्टा पनि नबसी आफ्ना काकासँग फर्किए । उनी फर्कदा सलोन र करिश्माको सिन्दुरको कार्यक्रम पनि भएको थिएन ।

जेहोस्, लामो समयपछि अनमोल सार्वजनिक कार्यक्रममा देखिए । अनमोल फिल्म ‘छड्के २’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन सकिन अझै २ साता लाग्ने बताइएको छ ।