फिल्म बजारमा चर्चाः के हेमराजले ‘छक्का पन्जा ४’ छाडेका हुन् ?

नेपाली फिल्म बजारमा गसिप खुबै चल्छ । अझ भनौ, गसिपकै दुनियाँमा फिल्म बजार रमाउँछ । विगत केही समयदेखि नेपाली फिल्म बजारमा एउटा गसिप खुबै चलेको छ । फिल्म ‘छक्का पन्जा ४’का निर्देशक हेमराज वीसी यो फिल्मबाट बाहिरिएको भन्ने चर्चा खुबै चलेको छ ।

विशेषगरि, दीपकराज गिरी र उनको टिमसँग कुरा नमिलेपछि हेमराज फिल्मबाट बाहिरिएको चर्चा खुबै चलिरहेको छ । तर, यसको आधिकारिक पुष्टी भने भैसकेको छैन । मेरो फिल्मलाई पनि श्रोतले यो कुराको पुष्टी गर्दै हेमराज फिल्मबाट बाहिरिएको बतायो । बरु, दीपकराज र उनको टिमले फिल्मको बाँकी छायांकन आफै गरिरहेको चर्चा समेत फिल्म बजारमा छ ।

तर, निर्माता तथा कलाकार दीपकराज गिरीले यो कुरामा सत्यता नभएको बताए । उनले भने–‘हाम्रो फिल्मको बारेमा कुनै न कुनै हल्ला हुनु स्वभाविक नै हो । अहिलेदेखि नै यस्तो हल्ला छ । भोली फिल्म चल्ने बेलामा अरु कस्ता कस्ता हल्ला चलाइन्छ, हेर्दै जानुहोला ।’

दीपकराज गिरीले हेमराजले फिल्ममा काम गरिरहेको बताए । फागुणको १९ गतेबाट रिलिज हुने यो फिल्ममा दीपकको साथमा केदार घिमिरे, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतको मुख्य भूमिका छ ।

अब, हेमराजले फिल्म छाडेका हुन् या होइनन् त्यो भोलीका दिनमा अवश्य नै थाहा हुनेछ । तर, फिल्मी बजारमा चलेको हल्लामा सत्यता नभएको दीपकराजले बताएका छन् ।