‘फूलबारी’पछि रामबाबु बनाउँदैछन् ‘सुन्दर बजार’, हुस्सुमा खिचिने

निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’ फागुणको ५ गतेबाट रिलिज हुँदैछ । यो बर्ष रामबाबुले ‘कबड्डी ४’ नामक ब्लकबस्टर फिल्म दिइसकेका छन् । उनको नयाँ फिल्म ‘फूलबारी’ पनि हिट हुने अपेक्षा गरिएको छ । यसैबिच, उनी नयाँ फिल्मको तयारीमा पनि छन् ।

उनले बनाउन लागेको नयाँ फिल्मको छायांकन माघमा हुनेछ । यो फिल्मका लागि केही समय अगाडि कलाकारको अडिसन समेत आह्वान गरिएको थियो ।

रामबाबुले बनाउन लागेको नयाँ फिल्मको नाम ‘सुन्दर बजार’ राखिएको छ । श्रोतका अनुसार, यो फिल्मलाई माघको हुस्सुमा खिचिनेछ । यसैले, तराइको विभिन्न जिल्लामा फिल्म खिच्ने तयारी रामबाबुले गरेका छन् । रामबाबुले ‘कबड्डी’ ब्रान्डबाट पछि हटेर धमाधम नयाँ नाममा फिल्म बनाइरहेका छन् ।

‘सुन्दर बजार’को बारेमा कलाकारसहितको जानकारी केही समयपछि दिने तयारी रामबाबुको छ ।