भारतमा सुस्तायो, नेपालमा अझै आक्रामक ‘उचाई’

नेपालमा छायांकन गरिएको र नेपाली भूभागलाई निक्कै आकर्षक तरिकाले देखाइएको भएर पनि बलिउड फिल्म ‘उचाई’ले नेपाली दर्शकबाट उच्च साथ पाइरहेको छ ।

भारतमा यो फिल्मको व्यापार सुस्ताएपनि नेपालमा भने अझै सुखद छ । रिलिज भएको चौथो हप्तमा पनि यो फिल्मले व्यापार राम्रो गरिरहेको छ । विशेषगरि, फिल्मको व्यापार शुक्रबार र शनिबार निक्कै नै राम्रो छ । आज पनि मल्टिप्लेक्समा दर्शकको चाप उच्च देखियो ।

दर्शकले यो फिल्मको कथावस्तुलाई त मन पराएका छन् नै, साथमा नेपालको दृश्यलाई निक्कै नै गज्जब तरिकाले देखाइएका कारण पनि यो फिल्म रुचाएका छन् । सगरमाथाको आधार शिविरसम्मको दृश्यलाई फिल्ममा जुन तरिकाले देखाइएको छ, त्यसले विश्वमा नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको छ ।

सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतको अभिनय छ ।

बलिउडको भएतापनि नेपालका लागि विशेष रुपमा जोडिएका कारण पनि ‘उचाई’ले नेपालमा सफलताको उचाई पाइरहेको हो । यो फिल्म नहेरेका दर्शकले एक पटक नेपालको दृश्य हेर्नका लागि भएपनि हेर्नै पर्ने दर्शक बताउँछन् ।