‘छक्का पन्जा ४’को सुट र रिसुटको तयारी

फागुण १९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘छक्का पन्जा ४’ छायांकन अझै बाँकी छ । पहिलो चरणको छायांकन सकेर यसको निर्माणपक्षले सम्पादनको काम सकेको छ । अब, केही दिनमा नै फिल्मको सुट र रिसुटको तयारी गरिएको छ । बाँकी रहेको दृश्यको छायांकनको सुट त सामान्य नै हो । तर, रिसुट किन गर्न लागिएको होला ?

यो बिषयमा फिल्मका लेखक, कलाकार तथा निर्माता दीपकराज गिरी भन्छन्–‘हाम्रो फिल्ममा रिसुट नयाँ कुरा नै होइन । चित्त नवुझेको दृश्यलाई हामी फेरि खिच्छौं । केही दृश्यहरु चित्त वुझेको छैन, त्यसैले रिसुट पनि गर्न लागिएको हो । यसअगाडि पनि हामीले हाम्रो फिल्मको रिसुट गरेका छौं ।’

हेमराज वीसी निर्देशित यो फिल्मले बक्स अफिसमा रेकर्ड ब्रेकको कमाई गर्ने अपेक्षा गरिएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी फिल्मको मुख्य कलाकार छन् । फिल्मले यसपटक यूनिक कथा उठाएको निर्माणपक्षले बताउँदै आएको छ । बजारमा फागुण १९ गतेबाट फिल्म सर्ने चर्चा पनि चलिरहेको छ । तर, दीपकराजले भने फिल्म सार्नुपर्ने कुनै कारण नभएको बताए ।