मे २७ मा टेक्ससमा हुँदैछ ‘११ औं नेफ्टा फिल्म अवार्ड’

नेपाली फिल्म क्षेत्रको सर्वाधिक प्रतिष्ठित फिल्म अवार्ड ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संकरण अमेरिकाको टेक्ससमा आयोजना हुने भएको छ । आगामी जेठ १३ गते अर्थात मे २७ तारिखमा नेपालीको बाहुल्यता रहेको टेक्ससमा आयोजना हुन लागेको हो ।

यो अवार्डका लागि यसपटक प्राविधिक संघसँग अमेरिकाबाट संचालित संचार गृह यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया र आर्यन फिल्मस् अमेरिका मुख्य आयोजकको रुपमा जोडिएको आयोजक सन्देश उप्रेतीले जानकारी दिएका छन् । नेफ्टाले यसअगाडि ४ संकरण मलेसिया, हङकङ, कतार र यूएइमा आयोजना गरिसकेको छ ।

नेपाली फिल्मको अन्तरराष्ट्रिय बजार बिस्तार तथा नेपाली फिल्म र फिल्मीकर्मीको प्रवद्र्धनात्मक विकासका उद्देश्यले आयोजना हुँदै आएको यो अवार्ड यसपटक नेपाल र अमेरिकाबिचको ७५ बर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन, डायस्पोरामा नेपाली फिल्म संकृति र बजारको खोजी गर्न र नेपाललाई अमेरिकी फिल्म छायांकनको गन्तव्यको रुपमा विकास गर्न महत्वपूर्ण साबित हुने आयोजक मध्येका एक फेम नेपालका अध्यक्ष बिमल कुमार पछाइले बताएका छन् ।

११ औं संस्करणको अवार्ड समारोहसँग सहकार्य गर्दै यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका महासचिव ओम आचार्यले आफ्नै पृथक अस्तित्व बोकेको नेपाली फिल्म क्षेत्र र नेपाली कलाकर्मीको पहिचान स्थापनार्थ अन्तरराष्ट्रिय कला संबद्ध प्रवद्धनात्मक प्रयास स्वरुप नेफ्टासँग अवार्डका लागि सहकार्य गरेको बताए ।

नेफ्टाले आउँदो बर्ष आयोजना हुने अवार्डमा यो बर्ष रिलिज भएका र हुन बाँकी फिल्महरुलाई सहभागी गराएर अवार्ड वितरण गर्ने अध्यक्ष पुस्कर लामाले बताए ।

यस्तै, यूएस खबरका प्रधान सम्पादक किशन रेग्मीले यो बिषयमा जानकारी दिन डिसेम्बर ७ मा फिल्मीकर्मी, आयोजक र संचारकर्मीसहित जुम बैठकको आयोजना गरिएको पनि जानकारी दिएका छन् । नेफ्टाले यसपटक ४२ विधामा अवार्ड वितरण गर्ने बताएको छ ।