‘प्रसाद २’ बाट बाहिरिएकी नम्रताको ‘ग्रहण’मा पनि हिरो परिवर्तन

‘जाइरा’ असफलताले नायिका नम्रता श्रेष्ठलाई अझै पनि छाडेको छैन । यो फिल्म असफल भएपछि नम्रताले २ वटा फिल्म साइन त गरिन्, तर उनलाई लफडाले छाडेन ।

नम्रताले अभिनय गर्ने भनिएको फिल्म ‘प्रसाद २’ अझै बन्न सकेको छैन । बरु, यो फिल्मबाट उनी बाहिरिसकेकी छिन् । यो फिल्मको छायांकन सुरु हुने दिनमा नै लफडा भएपछि काम रोकिएको हो ।

नम्रता बाहिरिएपछि फिल्ममा केकी अधिकारी फाइनल भैसकेकी छिन् । उनै, नम्रताले फिल्म ‘ग्रहण’को सेड्यूलसँग जुधेकाले ‘प्रसाद २’मा काम गर्न नसकेको बताइएको थियो ।

सिक्किममा घोषणा गरिएको यो फिल्ममा नम्रतासँग नायक विनय श्रेष्ठले काम गर्ने पक्का भएको थियो । तर, अब फिल्मबाट विनयले पनि हात झिकेका छन् । विनयले हात झिकेपछि फिल्ममा दिव्य देवलाई अनुवन्धित गरिएको छ ।

फिल्मको छायांकन सुरु नहुँदै ‘ग्रहण’मा ग्रहण लाग्ने संकेत देखिएको छ । फिल्मलाई सिक्किमको सेड्यूलबाट नेपालको सेड्यूलमा सारिएको छ । अब, फिल्म कहिलेबाट सुरु हुन्छ अझै भन्न सकिने अवस्था छैन ।