स्वर सम्राट नारायण गोपाल कस्ता थिए ? उनको मूर्तिको पनि कुनै मूल्य छैन

स्वरसम्राट नारायण गोपालको ३२औं स्मृती दिवस मनाईएको छ । नारायण गोपालको पूरा नाम नारायणगोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।

वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा निधन भएका स्वर सम्राट नारायण गोपालको सम्झनामा हरेक बर्ष झैं संगीत क्षेत्रका संगीतकर्मी  लगायत नेपाली संगीत प्रेमीहरुले नारायण गोपाल स्मृती दिवस विशेषरुपमा मनाएका छन् । त्यसतै देशभरका विभिन्न स्थानमा नारायण गोपाल स्मृती साँझ आयोजना गरी मनाइरहेका छन् ।

नेपाली सांगीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मंसिर १९ गते ३२ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ।

नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे । पिता आशागोपाल गुरुवाचार्य र माता राममाया गुरुवाचार्यका नौ (९) जना सन्तानहरूमध्येका माहिलो सन्तान नारायण गोपालको शुभ विवाह विसं २०२७ फागुनमा श्रीमती पेमला गुरुवाचार्यसँग सम्पन्न भएको थियो ।

सानामा लजालु स्वाभावका नारायण भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । उनी किशोर अवस्थामा पुग्नासाथ दुइ कुराको आदि भए । एउटा चूरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने ।

नारायण गोपालले गाएका गीत अधिकांश लोक तथा आधुनिक छन्। त्यसमा पनि लयका विविधताले उनका गीतलाई अहिलेसम्म जीवन्त राखेको नेपाली सङ्गीतकर्मीको बुझाइ छ।

‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन्।

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उनले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए। सबैभन्दा पहिला उनले साथी मणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए। पहिलो पटक उनले त्रिचन्द्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए।

उनका पिता आशागोपाल गुरुवाचार्य त्यति बेलाका नाम कमाएका सितारवादक थिए भने पिताको संसर्ग र प्रोत्साहनले जात्रा र मेलाहरूमा डबलीहरूमा गीत एवं भजनहरू गाएर नारायण गोपालले आफ्नो संगीत यात्रा थालनी गरेका थिए ।

डबलीहरू हुँदै विसं २०१७ सालतिर त्रिचन्द्र कलेजको समारोहमा दुईटा गीत ‘स्वर्गकी रानी’ र ‘आँखाको आँखैले’ गाउन पुगेका नारायण गोपालले सर्वप्रथम रेडियो नेपालका लागि रेकर्ड गराएको गीतहरू पनि यिनै हुन् । आफ्नै संगीतमा रेकर्ड गरिएका यी दुई गीतहरू नै रेडियो नेपालमा पहिलोपटक ‘स्पुल’ मा रेकर्ड गरिएका गीतहरू हुन् भने ‘सबलाई रिझाउँभन्दा पसलमा बेचिएछु’ र ‘सानै हुरीमा बैंसको सपना’ गीतहरूचाहिँ ‘लाइभ रेकर्ड’ गरिएका पहिला गीतहरू हुन् । रेडियो नेपालकै रेकर्ड पल्टाएर हेर्ने हो भने वि.सं.२०१६ देखि २०२२ भित्र ३२ वटा गीत पुराना गीतहरूका रूपमा र ४५ वटा आधुनिक गीत, राष्ट्रिय (स्वदेश) गीत ४ वटा र २१ वटा गीत चलचित्रहरूको गाएको अभिलेख छ ।

नारायण गोपालले गाएका स्वदेश गीतहरूमा म मरे पनि मेरो देश बाँची रहोस्, जाग लम्क चम्क हे नौजवान, आमा तिमीलाई, मुटुको हरेक नशामा तातो रगत उचाली प्रमुख छन् भने उनले एउटा मात्र लोकगीत गाएका छन् । २०३७ सालदेखि २०४० सालसम्म सांस्कृतिक संस्थानको महाप्रबन्धकसमेत बनेका नारायण गोपालले यसभन्दा अघि नेपाल ललित कला क्याम्पसमा सहप्राध्यापक, संचार मन्त्रालयमा संगीत सल्लाहकारका रूपमा रहेर काम गरेका थिए । गीत र संगीतको विकास एवं तत्सम्बन्धी खोजपूर्ण सामग्रीहरू प्रकाशनार्थ गीत र नाचलाई एकै थलोमा संगालेर ‘बागीना’ को प्रकाशन पनि नारायण गोपालकै प्रयासबाट थालिएको हो ।

मुनामदन र मालतीमंगले जस्तो सर्वाधिक सफल गीतिनाटकहरूमा आफ्नो सुमधुर स्वर प्रदान गर्ने नारायण गोपाललाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पैसाको नाममा केवल तीन हजार रुपियाँ मात्र दिएको कुराको गुनासो पोख्दै एकपटक नारायण गोपालले भनेका थिए– ‘गीतिनाटकमा गायन र संगीत राम्रो नभएको भए कथाले मात्र केही हुँदैनथ्यो । तत्कालीन राजा वीरेन्द्रले दिएको एक लाख रुपियाँबाट लेखकले बीस हजार पाए भने हामीलाई तीन तीन हजार मात्र दिइयो । यो कस्तो मूल्यांकन हो ? यसलाई पक्षपात भन्ने कि अन्याय ?’

नारायण गोपालको यो प्रश्नले पनि उनी निर्भिक र सत्य कुरालाई नलुकाई निर्धक्क भन्ने बानी रहेको व्यक्ति भन्ने पुष्टि गर्दछ । स्वर सम्राट् नारायण गोपाल विसं २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकार, विसं २०२४ सालमा सर्वोत्तम गायकको पुरस्कार, विसं २०४८ सालमा मरणोपरान्त त्रिशक्तीपट्ट, इन्द्रराज्य लक्ष्मी पुरस्कार, जगदम्बा पुरस्कारलगायत थुप्रै पुरस्कार, पदक, विभूषणबाट विभूषित भएका थिए । यसरी आफ्नो जीवनकालमा विभिन्न पुरस्कारबाट सम्मानित भएका स्वर सम्राट् नारायण गोपालको इच्छाबमोजिम स्थापना गरिएको ‘नारायण गोपाल संगीत कोष’ ले नेपाली आधुनिक गीत अनि संगीतको विकास गरी यसको मौलिकता, स्तरीयता र लोकप्रियताको आधारमा सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गर्ने गराउने उद्देश्यसहित संगीतकर्मीलाई नारायण गोपाल संगीत पुरस्कार प्रदान गरेर संगीत क्षेत्रमा ठूलो गुन लगाउँदै आइरहेको छ ।

विसं २०४७ साल मंसिर महिनाको १९ गतेका दिन राति ९ बजेर २५ मिनेट जाँदा आफ्नो नश्वर शरीर अनि संगीत संसार त्यागेर गएका नारायण गोपाल आज हामीबीच नरहे पनि उनका सयौं गीतहरू सदैव हाम्रो मुटुबीच अनि नेपालको संगीताकाशमा चम्किलो ताराका रूपमा सधैं चम्किरहनेछ ।

उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भनेका छन्, ‘नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।’

उनको जीवनको बारेमा केहि रोचक तथ्यहरू पढ्नुहोस्ः

१. मानविकी शास्त्रमा स्नातकोत्तर गरेका नारायण गोपालले शास्त्रीय सङ्गीत अध्ययन गर्न भारतको ‘माहाराजा सायाजीराव युनिभर्सिटी अफ बडोदा’ गएका थिए तर उनले अध्ययन पुरा नगरी नेपाल फर्किएका थिए।

२. उनका नजिकका अनि असल मित्रहरू ‘माणिक रत्न’ र ‘प्रेमध्वज प्रधान’ले हिन्दी गीतमा स्वराभ्यास गरिरहेका बेला नारायण गोपालले ठट्टा गरेर हिन्दी गीतको लय नै बिगारेर गाउने गर्थे।

३. उनले आफ्नो साङ्गीतिक यात्राको सुरुवातमा ४ वटा एकल गीत (स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल) र २ वटा युगल गीत (बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैँश जानलाग्यो) गाएका थिए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भएको थियो।

४. बीसको दशकतिर भारतको पश्चिम बङ्गालस्थित पहाडी राज्य दार्जिलिङको भ्रमणको बेला उनले दुई महत्वपूर्ण कुरा भेट्टाएका थिए। पहिलो- उनलाई अति नै माया गर्ने प्रशंसक ‘पेमाल’लाई प्रेमीको रूपमा पाए भने दोश्रो- त्यहीँ संघर्ष गरिरहेका एक होनहार सङ्गीतप्रेमी ‘गोपाल योञ्जन’लाई एक मीतका रूपमा पाए।Narayan Gopal and his wife

५. आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगमा नारायण गोपालले नाचघरमा बाद्यवादकका जागिर पाए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। आफ्नो जीवनमा एक्कासी आएको सफलताले भनौँ या बच्चैदेखिको अहम स्वभावले भनौँ, उनले बिस्तारै आफ्ना पुराना मित्रहरूसँग नाता टुटाउँदै गए। दार्जिलिङमा लगाएको मीतसँगको सम्बन्धमा पनि चिसोपना आउँदै गएको थियो।

६. आफ्नो गायनलाई चुनौती र परीक्षाको रूपमा स्वीकार्ने गायक, सङ्गीतकार नारायण गोपाल इतिहासका ज्ञाता थिए, फुटबल खेलका पारखी थिए, चेसका खेलाडी थिए, भान्सामा पनि कुशल भान्से थिए र शौखिन फोटोग्राफर थिए।

७. नारायण गोपालको स्वरलाई हाम्रो जनसमुदायले भुल्न नसक्ने एउटा कारण छ। उनले भनेका थिए- “म गाउँछु त केवल जनताको लागि गाउँछु!”

८. नारायण गोपालले बि.सं.२०२३ सालमा सर्वोत्तम सङ्गीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु पुरस्कार, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित भएका थिए।

९. आफ्नो कोठामा हुँदा टेबुलको अगाडि पर्यो कि हार्मोनियम बजाउन थालिहाल्ने उनको बानी थियो।

१०. ‘बागीना प्रकाशन’का प्रकाशक तथा ‘सांस्कृतिक संस्थान’का महाप्रबन्धक, ‘सञ्चार मन्त्रालय’मा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटक कथा ‘कान्छी मस्याङ’ पनि लेखेका थिए।

असफलता

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए। उनी पहिलो पटक स्वरपरीक्षामा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए।

फिल्म माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए। फिल्म कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए। उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए। यसको दाग उनलाई जीवनभर लागिरह्यो।

चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए। फुटबल खेलका पारखी थिए। चेसका खेलाडी थिए। उनी भान्सामा कुशल भान्से थिए। र, शौखिन फोटोग्राफर थिए। उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे।

उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स, साम्चीबाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना गर्न पूरा खटे। उनले आफ्नै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे।

यी सबै इविबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ ।