अनमोल केसीको व्यापारिक भ्यालु !

फिल्ममा स्टारको कुरा सधै आउँछ । स्टार को र किन भन्ने ? स्टारका मापदण्ड के के हुन् ?

नेपालमा स्टार सधै जन्मिएका छैनन् । स्टार जन्मनका लागि समय लाग्छ । स्टार भैसकेपछि त्यसलाई बचाउन पनि समय लाग्छ ।

नेपाली फिल्मले स्टार पाउन सधै कसरत गरेको छ । अभिनेता राजेश हमाललाई आजका दिनसम्म पनि स्टार मानिन्छ । राजेश हमालपछि आएका अभिनेताहरुले छोटो समयका लागि नाम कमाएका थिए, तर स्टार नै बन्न सकेनन् ।

अहिले अभिनेता अनमोल केसीलाई स्टार मान्न यो बजार दुविधामा छ । किनकी, अनमोल केसीले ७ वटा फिल्म मात्र गरेका छन् । उनका ७ वटा फिल्ममा ५ वटा नेपालमै क्लिन हिट छन् । २ वटा फिल्मलाई लगानी उठाउनका लागि विदेशी बजारको पनि सहारा लिनु परेको थियो ।

अभिनेता अनमोल केसीले अभिनय गरेको सातौ फिल्म ए मेरो हजुर ३ अहिले फिल्म हलमा लागिरहेको छ । यो फिल्म अनमोल केसीको क्यारिअरको सबैभन्दा बढी कमाउने फिल्म हो ।

उनले अगाडि काम गरेका ६ वटा फिल्मले कमाएका व्यापारको रियालिटी चेक गर्ने हो भने सातौ फिल्म उनका लागि बरदान सावित भएको छ ।

कृ र क्याप्टेन फिल्मको जनरामा खेल्दा अनमोल केसीलाई समस्या परेको हो । उनी कृ र क्याप्टेनमा लभरब्वाइबाट बाहिरन खोजेका थिए । तर, दर्शकले उनलाई ए मेरो हजुर ३ मा रुचाउनुको कारण अहिले नै लभरब्वाइको गेटअप र अभिनय नछोड भनेर सन्देश दिएका हुन् ।

अभिनेता अनमोल केसीले सातौ फिल्मबाट आफूलाई प्रमाणित गरेका छन् । तर, उनी अहिले नै नेपाली फिल्मको बजारमा स्टारडमलाई भर्ने हिरो हुन् कि होइनन् ? मेगास्टार, सुपरस्टार उनलाई अरुले दिएको उपनाम हो । उनी आफैले यो उपनाम पाउनका लागि धेरै मेहेनत गर्नुपर्ला ।

तर, नेपाली फिल्मलाई यूवापुस्तामा लोकप्रिय बनाउनमा अभिनेता अनमोल केसीको भूमिका कमजोर आँकलन गर्न हुँदैन । दर्शकले सहजै उनलाई मेगास्टार भनेर प्रतिक्रिया दिनुको कारण पनि यही नै हो ।

अभिनेता अनमोल केसीलाई बजारले थिचेको छ । उनलाई थिचेको बजार नै व्यापारको हो । अनमोल केसी अहिले नै फरक कन्टेन्टमा काम गरेर आफूलाई मात्र प्रमाणित गर्न सक्ने अवस्थामा छैनन् । किनकी, उनलाई निर्माताले लगानी गरेको करोड रकम बचाइदिनुपर्ने दबाब ठूलो छ ।

सातौ फिल्म ए मेरो हजुर ३ ले क्यारिअरकै बढी रकम कमाउनुको अर्थ हो, अभिनेताको माग बढ्दो छ । यो बढ्दो माग र व्यापारिक दबाबलाई धान्नका लागि उनलाई सजिलो छैन । तर, उनी नेपाली फिल्ममा निर्माताले विश्वास गरेर लगानी गर्न सक्ने एउटा हिरो भने हुन् ।