रंगीन दुनियामा आफ्नो स्थान खोज्दै अनु (फोटो सहित)

नेपाली फिल्म क्षेत्रको रंगिन दुनियामा आफ्नो स्थान खोज्दै गरेकी नायिका हुन्, अनु पराजुली । ‘कम्पन’ नामक फिल्मबाट पहिलो पटक क्यमेरामा कैद भएकी उनले ४ वटा फिल्ममा काम गरिसकेकी छिन् । उनले कम्पन फिल्मपछि १०० बढि म्युजिक भिडियोमा काम गर्ने अवसर पाएकी छिन् । उनी म्युजिक भिडियोमा निकै व्यस्त छिन् भन्दा फरक नपर्ला । पछिल्लो समय एकदमै लोकप्रिय भइरहेको गीत ‘केसरी’मा पनि उनको अभिनय रहेको छ ।

हाल, अनु फिल्म ‘काउसो’मा व्यस्त छिन् । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । यस फिल्मले जेठ १७ गतेलाई रिलिज मिति पक्का गरेको छ । यस फिल्ममा अनुको मुख्य भूमिका रहेको छ । पढाईको लागि काठमाडौं प्रवेश गर्दै गर्दा अनुलाई फिल्म क्षेत्रसँग कुनै रुचि थिएन । तर, पछि लगतार अफरहरु आएपछि उनले कम्पन नामक फिल्ममा काम गरेकी थिइन् । उक्त फिल्ममा एक चिनजानको दाईले उनलाई अफर गरेका थिए ।

उनी यस क्षेत्रमा आएको जम्मा ३ वर्ष भयो  । तर, म्युजिक भिडियोको संख्या हेर्दा उनी स्थापित कलाकार हुन भन्ने लाग्छ । उनी भन्छिन्, ‘म भर्खरै मात्र प्रवेश गर्दैछु । मैले सिक्नुपर्ने कुराहरु धेरै छन् ।’ अनु स्कुल लेभरदेखि नै नाच्न भने खुबै रुचि राख्थिन् । रेखा थापाको ठुलो फ्यान अनु प्राय: रेखा थापाकै गीतमा नाच्ने गर्थिन् । उनले भनिन्, ‘रेखादिदी भनेपछि मलाई खुबै मन पर्थ्यो । त्यसैले उहाँकै गीतमा बढि नाचियो ।’