रिमेक ‘अर्जुन रेड्डी’ मा विशाल र जी २१को सहकार्य

सफल तेलगु फिल्म ‘अर्जुन रेड्डी’ तथा बलिउड रिमेक फिल्म ‘कविर सिंह’ को नेपाली रिमेक बन्ने खबरले फिल्म बजारमा तरङ्ग फैलिएको छ । फिल्मको मुख्य कलाकारका लागी विभिन्न कलाकारहरूको नाम एक पछी अर्को आइरहेको छ । तर यस बिषयमा कुनै पुष्ट खबर भने आएको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।

‘अर्जुन रेड्डी’ को नेपाली रिमेक भर्जन निर्देशन गर्ने छन्, बिशाल सापकोटाले । सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ प्रदर्शनको सँघारमा रहेको छ । साथै फिल्म निर्माणमा ‘युवा फिल्म्स’ सँग ‘जी २१ फिल्म्स’ ले समेत सहकार्य गर्ने भएको छ । ‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’ का केशव खड्का र आशिष श्रेष्ठले बताए ।

यस अघि ‘जी २१ फिल्म्स’ ले निर्माण गरेको फिल्म ‘दुई रुपैयाँ’ प्रदर्शन भएको थियो । यता ‘जि २१ फिल्म्स’ को तर्फबाट आसिफ शाहले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्नु फिल्म क्षेत्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु फिल्मनिर्माणमा सहभागी भएको बताए । फिल्मका लागी यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकार लगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ ।

निर्माण कम्पनीले अडिसनबाट कलाकार छान्ने बताई रहदा नेपाली फिल्म बजारमा भने नायक आर्यन सिग्देलको नामले चर्चा पाएको थियो । चर्चा यति सम्म चल्यो कि ‘कन्फर्म’ लेखिएका समाचार समेत देखिएको थियो । अन्तत सिग्देल आफैले सामाजिक संजाल मार्फत फिल्ममा आबद्ध नरहेको खबर दिन पर्यो ।