एलजी सिने सर्कल अवार्ड, जे नहुनु पर्ने थियो…

बलिउड अभिनेता गोविन्दालाई ल्याएर ठूलै चमकधमक देखाईएको भएपनि आईतबार अवार्ड बाँड्दासम्म एलजी सिने सर्कल अवार्ड्सको रवाफ सेलाएको छ । उत्कृष्टदेखि पपुलर र क्रिटिक्ससम्मका विभिन्न शीर्षकमा बढि भन्दा बढि अवार्ड बाँडेर कलाकारलाई खुशी बनाउने प्रयास गर्दा अवार्ड समारोह झन् फितलो बन्न पुगेको छ ।
तीन घन्टा चलेको अवार्ड कार्यक्रममा दर्शक बनेर बसेका फिल्मकर्मी विधागत उत्कृष्टको घोषणासँगै जिल परिरहेका थिए । सिनेमा सर्कल नेपालले आयोजना गरेको यसवर्षको अवार्डमा देखिएका केही उदेकलाग्दा कुराहरु यस्ता छन्:

१. चर्चै नभएको उत्कृष्ट फिल्म
अवार्ड प्रायः दुई आधारमा दिने प्रचलन छ । एक त विधागत उत्कृष्टतालाई नापजाँच गरेर मनोनितबाट अब्बल छानेर अवार्ड प्रदान गरिन्छ । जसको अन्तिम निर्णय जूरीले गर्ने गर्छन् । अर्को, भोटिंगको आधारमा वा वर्षभरी पाएको चर्चा र लोकप्रियताका आधारमा पपुलर अवार्ड दिईन्छ । तर नेपालमा कतिपय अवार्ड आयोजकले कलाकार खुशी पार्ने मेसोमा सबैलाई समेट्न पपुलर, बेस्ट वा क्रिटिक्स, जुरी अवार्ड होलसेलमा बाँडिन्छ । सिने सर्कल अवार्डले बाँडेका अवार्ड पनि खिचडीमय देखिए ।
उत्कृष्ट फिल्ममा कमैले नाम सुनेको र अधिकांशले त हेर्दै नहेरेको फिल्म ‘तिमीसँग’ ले जित्यो । त्यसो त यो फिल्म मनोनयनमा पर्नु नै पनि अचम्मको कुरा थियो । तर अचम्मको हद पनि पार गर्दै उक्त फिल्मले बाँकी छ प्रतिष्पर्धी फिल्मलाई उछिन्दै उत्कृष्टताको दाबी पेश गर्यो । उत्कृष्ट फिल्मको भिडन्तमा ‘छक्का पन्जा २’, ‘शत्रु गते’ जस्ता व्यवसायिक रुपमा सफल फिल्मदेखि समिक्षात्मक रुपमा बलियो मानिएका ‘पन्चायत’, ‘भुईमान्छे’ वा चर्चामा रहेका ‘लिलिबिली’ वा ‘मंगलम’ सबै पछारिए ।

‘तिमीसँग’ न व्यवसायिक रुपमा चल्यो, न त समिक्षकले नै उल्लेख गर्न लायक ठानेका थिए । तर सिने सर्कल अवार्डमा एकाएक बाजी मार्दा सायद फिल्म युनिट र आयोजकबाहेक सबै अवाक रहे । आखिर जुरी सदस्यद्वय पत्रकार कृष्ण भट्टराई र संगीतकार महेश खड्काको निर्णय त मान्नै पर्यो ।

२. जोर जुरी
अर्को उदेकलाग्दो कुरा, कुनैपनि अवार्ड कार्यक्रममा मूल्यांकन समिति वा निर्णायक मण्डलमा सदस्य विजोर राख्ने गरिन्छ । कारण, जुरी सदस्यबीच नै मत विभाजन भएको स्थितीमा बहुमत सदस्यको निर्णयलाई सदर गर्ने गरी बिजोर राख्ने गरिएको हो ।
जोर सदस्य भएको खण्डमा सदस्यहरु पनि दुवैतर्फ आधा–आधा संख्यामा बाँडिए भने अनिर्णयको बन्दी हुने संभावना रहन्छ । तर सिने सर्कल अवार्डमा जूरीका रुपमा मात्र दुई सदस्य कृष्ण भट्टराई र महेश खड्कालाई चिनाइयो । एक त जूरीहरु समेट्दा विधागत हिसाबले अब्बल व्यक्तिलाई छनौट गर्ने गरिन्छ । त्यस मानेमा पनि सिने सर्कल अवार्डले उदेकलाग्दो काम गरिदियो ।

३. पोष्टर, स्टन्ट, ट्रेलरका पनि विधा
२२ विधा राखिएको सिने सर्कलमा धेरै विधा भएकैले पनि अवार्ड वितरण तीन घन्टा लामो भईदिंदा पट्यार लाग्दो बनेको थियो । धन्न उपराष्ट्रपति नन्दकिशोर पुन र अभिनेता गोविन्दाले अन्तिमसम्म बस्ने धैर्यता कायम राखे । जबकी अवार्ड नै भनिएको समयभन्दा डेढ घन्टा ढिलो शुरु भएको थियो ।

जसै अवार्ड बाँड्न थालियो, विधागत नामले अर्को उदेकलाग्दो पार्यो दर्शकलाई । उत्कृष्ट पोष्टरदेखि स्टन्ट, ट्रेलरसम्मका अवार्ड बाँडिए । हुन त  नेपालमा यस्ता कुरा अचेल सामान्य बन्न थालिसके । जसले जे गर्दा पनि चलेकै हुन्छ । तर बलिउड जस्तो फिल्म उद्योगको ठूलो महासागरबाट आएका पाहुनाको मनमा के कुरा खेल्यो होला ? धन्न उनले जाँदा जाँदै प्रशंसा नै गरेर गए । लाज ढाकिदिए ।

४. उत्कृष्ट अभिनेता नाजिर ?
‘पंचायत’ बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका सरोज खनालले नै फेसबुकमा यसै अवार्डकै मनोनयन सार्वजनिक भएपछि फेसबुकमा ‘पात्र उही, चरित्र उही तर कहिं खलपात्र (वा भिलेन) कहिं कलाकार, कहिं सहअभिनेता त कहिं अभिनेता । तर हो चाहीं के ?’ भन्ने आशयमा लेखेका थिए ।
आखिर उक्त विधामा सरोज सहित दयाहाङ राई, अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का र राज कटुवाललाई लोप्पा खुवाउँदै नाजिर उत्कृष्टमध्ये उत्कृष्ट दरिए । उदेकलाग्दो कुरा त बाँकी नै छ । के भने, उनले उत्कृष्टताको अवार्ड पाएको फिल्म तिमीसँगमा नाजिर सहायक भुमिकामा थिए । मुख्य भुमिकामा आकाश श्रेष्ठलाई खेलाईएको थियो ।

जुरीले के ठानेर दिए कुन्नी ? तर अभिनयका हिसाबले हेर्दा दयाहाङ राई ‘तान्द्रो’ बाट, सरोज खनाल ‘पन्चायत’ बाट वा पुष्प खड्का ‘मंगलम’ बाट जति उत्कृष्ट काम गरेका थिए, त्यस दाँजोमा नाजिरको काम अवार्डको हकदार थिएन भन्ने गाईगुई अवार्डमा चल्यो । न त, पपुलरकै दाँजोमा ‘कृ’ का अनमोल केसी वा ‘लिलिबिली’ का प्रदीप खड्कालाई नाजिरले भेट्न सक्थे । खैर, अवार्ड नाजिरले नपाएको भए यो उदेकलाग्दो क्षण नै कसरी आउँथ्यो र ?

५. आउनेलाई अवार्ड ?
नेपाली फिल्म रिलिज क्रममा जुध्नु त अनौठो थिएन नै, अवार्ड पनि जुध्न थालेका छन् । आइतबार नै नेपाली फिल्मका दुई अवार्ड भए । एउटा काठमाडौंको सिने सर्कल अवार्ड हुँदा अर्को जापानमा सूर्य इन्टरनेशनल अवार्ड । अवार्ड जुध्दा कलाकार पनि बाँडिने भईहाले । अवार्ड आयोजक आफुतर्फ धेरै कलाकार तान्ने होडमा लागे । परिणाम, आफ्ना अवार्डमा आउने कलाकारलाई अवार्ड नछुटाउने र नआउनेलाई नदिने गरेको झल्को देख्न सकिन्थ्यो ।
केही कलाकार त काठमाडौंमा नै अवार्ड पाउने ग्यारेन्टी पाएपछि जापानको अवार्डमा भीसा र टिकट आईसकेपछि पनि बहानाबाजी गरेर नगएको भन्ने टिप्पणी सुनिए । आखिर जापानको अवार्डमा अन्तिममा आएर नजाने निर्णय गरेका प्रदीप खड्काले सिने सर्कल अवार्डमा गएर अवार्ड नै थापे, पपुलर एक्टरको । अर्कोतर्फ, अवार्डमा नआउने अनमोल केसी, दयाहाङ राईको दाबेदारी फिक्का रह्यो । बरु अवार्डमा देखिने पुष्प खड्कालाई क्रिटिक्स अवार्ड तथा प्रदीपलाई पपुलर एक्टरमा अवार्ड दिएर नाजिरलाई उत्कृष्ट बनाइएको भन्ने टिप्पणी अवार्ड सकेर फर्कनेबीच चलेको थियो ।

६. पटकथा र फिल्म उत्कृष्ट, दर्शकमा फ्लप
फेरि कुरा, ‘तिमीसँग’ कै । उत्कृष्ट फिल्ममा अवार्ड जितेको ‘तिमीसँग’ ले पटकथाको विधामा पनि अवार्ड जित्यो । यसले पनि दर्शकमा अर्को झट्का दियो । उक्त विधामा पन्चायत, छक्का पन्जा २, दुई रुपैयाँ, शत्रुगते, भुईमान्छे र मंगलम सबैले तिमीसँगका अगाडी हावा खाए ।

वाह, उत्कृष्ट फिल्म र पटकथा हुने फिल्म पक्कै पनि राम्रो भएकै हुनुपर्छ । राम्रो फिल्म आखिर दर्शकले नहेर्ने कुरै भएन । तर दुःखका साथ भन्नुपर्छ, तिमीसँग रिलिजको तीन दिन पनि मल्टिप्लेक्समा टिक्न सकेको थिएन । आखिर जुरीले यस्तो अब्बल मानेको फिल्म दर्शकले कहाँनेर बुझ्न सकेनन् ? उदेक मान्नुपर्ने कुरा यहाँ पनि छ ।
७. मनोनयनमा मनोमानी
विशेषगरी विधागत मनोनयनमा पाँचवटा उत्कृष्ट समावेश गरी त्यसबाट एक सर्वोत्कृष्ट छानिने गरिन्छ । पाँच मनोनयनको सर्वमान्य परम्परालाई सिने सर्कल अवार्ड्सले पुरै लत्याएको छ । कुनै विधामा सात–सातवटासम्म नोमिनिज राखिएको छ भने केही छवटा छन् ।

अत्यन्तै कडा प्रतिष्पर्धा हुने भएमा संख्या बढ्नु उचित पनि मान्न सकिएला । तर सिने सर्कल अवार्ड्सका मनोनयनमा परेका फिल्म वा फिल्मकर्मी हेर्दा त्यस्तो लाग्दैन । कतै आयोजकले मनोनयनमा समेटेर खुशी बनाउनकै लागि त यस्तो उदेकलाग्दो पारामा संख्या बढाएको हैन ?

८. गोविन्दा हाबी
नाम सिने सर्कल अवार्ड्स र सम्मान नेपाली फिल्मकर्मीको हुनुपर्ने हो । तर भएन त्यस्तो । बलिउडबाट आईदिएकैले गोविन्दाप्रति आयोजकको भक्तिभाव उदेकलाग्दो देखियो । गोविन्दाका लागि सैनिक लाइभ ब्यान्डबाट धुनको सम्मान दिनेदेखि उनकै फिल्मका गीतमा नाचेर खुशी बनाउने प्रयत्न गरियो ।

त्यतिमा नै आयोजक सन्तुष्ट देखिएन । गोविन्दाको जीवनी नै समेटेर भिजुअल प्रिजेन्टेसन पनि गरियो । उनको फिल्मको ट्रेलर समेत अवार्ड समारोहमा प्रस्तुत गरियो । उपराष्ट्रपतिका हातबाट दोसल्ला ओढाई स्वागत पनि गराईयो । र, उनकै हातबाट लाइफटाइम अचिभमेन्ट अवार्डको सम्मान पनि दिन लगाइयो । अन्त्यमा, गोविन्दाले निर्वाध लामो भाषण पनि ठोके । उपराष्ट्रपतिदेखि सबै दर्शक उदेक मानेर सुनिरहे ।

९. कलाकारको भाषण
अवार्ड समारोहको अर्को दुर्दशा अवार्ड वितरण गर्न स्टेजमा पुगेका कलाकारका कारण पनि देखियो । बिजेताको नाम अनाउन्स गर्न पोडियममा गएका कलाकारले म जान्ने छु भन्दै बोलेको अंग्रेजीले आफ्नै खिल्ली उँडाएको पत्तै पाएनन् । ठुटे अंग्रेजी र उनीहरुको सम्बोधन शैलीले उनीहरु आँफैलाई गिज्जारहेको थियो । अभिनेता सुनिल थापाले कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपतिलाई उपराष्ट्रमन्त्री ज्यू भनेर सम्बोधन गरे । नायिका करिश्मा मानन्धरले त उपराष्ट्रपतिको नाम नै बिर्सिइन् । निर्देशक/कोरियोग्राफर रेनशा वान्तवा राईको अंग्रेजी अर्को हाँसोको विषय थियो ।

रेनशासँगै फिल्म इन्टु मिन्टु लण्डनमाको प्रस्तुतीका लागि स्टेजमा आएका नव नायक धिरज मगरले आफुलाई डेब्यु निर्देशक भने, उनीहरुसँगै आएका अर्का नायक शारुक ताम्राकारको नाम न कार्यक्रम प्रस्तोताले लिए न फिल्म यूनिटले । धिरजको निम्ति प्रसंसाको ओछ्यान बिच्छाएका कार्यक्रम प्रस्तोता र रेनशाले समेत उनको नाम लिएनन् । शारुक मलिन अनुहार पार्दै स्टेजबाट बिदा भए ।
उत्कृष्ट नायिकाको अवार्ड पाएकी नायिका नीता ढुंगानाले गोविन्दाकी छोरी टिनाको हातबाट अवार्ड पाउनु भयंकर ठानिन् । उनले ‘टिना जीको हातबाट अवार्ड थाप्न पाउनु मेरालागी ठूलो खुशीको कुरा’ भन्दै भाषण ठोकिन् । जबकी टिना गोविन्दाको छोरीको परिचय भन्दा बढी कोही थिईनन् ।