मलाई आमा मन नै पर्दैन !


धेरैले लेखे आमाको बारेमा, मायाको बारेमा, ममताको बारेमा । मलाइ ती कसैको कुरा खासै चित्त बुझ्दो लागेन । आमा सृष्टिकर्ता हुन रे ! म मान्छु तर उनले आफ्ना कयौं सपनालाई ध्वस्त पारेकी पनि त छिन् । आमा जीवनदाता हुन रे ! हो उनले मलाइ एउटा जीवन दिइन् । तर आफ्नै जीवन दाउमा राख्न सक्ने उनी मूर्ख पनि हुन् । साच्चै उनलाई माया गर्न आउदैन । उनी समाज बिरोधी पनि हुन् कि जस्तो लाग्छ मलाई । यस्तो स्वार्थी संसारमा उनलाई मात्र माया प्रती स्वार्थ छैन । उनी बेतालले माया गर्छिन्, अन्ध भक्त भएर माया गर्छिन्, उनी आँखा चिम्लेर माया गर्छिन् । उनलाई केही आशा छैन मायाको बद्ला माया बाहेक। समाजमा त रुप हेरेर, पैसा हेरेर, नाम हेरेर माया गरिन्छ । होइन र ? उनी अनपढ हुन् । अनि समाजबाट पनि यस्तो कुरा सिक्न चाहदिनन् । त्यसैले पनि होला मलाई आमा मन नै पर्दिनन् ।

मेरी आमा बहुत जिद्दी छिन् । मैले खान्न खान्न भन्दा भन्दै जबर्जस्ति खुवाउँछिन् । यति मात्र हो र उनी मलाई झुक्याउँछिन् । पेट खाली नै हुन्छ तर टन्न खाकी छु भन्छिन् । कहिले काहीँ त लाग्छ मेरी आमा कलाकार बन्नु पर्ने हो, उनलाई दु:ख लुकाएर हास्न खुब आउँछ । कसैले पीडा लुकाएर हास्न मेरि आमाबाट सिकुन् । खै मेरी आमा कस्ति खालकी हुन् । मिर्मिरे देखि साँझसम्म सास नफेरी काम गर्छिन् अनि गोडा हजुरआमाको माडिदिन्छ्न् । उनी लोभी पनि छिन्, उनलाई कसैले दिएको खानेकुरा पोल्टामा हालेर ल्याउछिन् अनि मलाई दिन्छिन्,आमा मलाई खुवाउँछिन् अनि आफू अघाए जस्तो गर्छिन् । कहिले काहीँ त लाग्छ मेरी आमाको आँखा कम्जोर छ । उनी चार बर्ष पुरानो पछ्यौरी नयाँनै देख्छिन् । तर मलाइ बर्सै पिच्छे नयाँ लुगा किनिदिन्छ्न् । उनलाई १०३ डिग्रीको ज्वरो आउँदा केही भाछैन भन्छिन् । अनि मेरो निधार तातो हुँदा अस्पताल पुर्याउछिन् । मलाई लाग्छ उनलाई मानसिक रोग लागेको हुनुपर्छ ! घरका सब परिवारको भोक थाहा पाउने, आवश्यकता थाहा पाउने, पीडा थाहा पाउने तर आफ्नो वास्तै छैन । उनी मुसुक्क मुस्कुराउछिन्, जब घरका परिवार बेजोडले हाँस्छन् । अरुको मुहारमा खुसी देखेर हास्ने उनी कस्ति होलिन् ।

खै कस्तो मन्त्र लगाउँछिन् कुन्नी मेरो सारा पीडा उनलाई देख्ने बित्तिकै दुर हुन्छन् । कतै मेरी आमा जादुगर त होइनन ? पक्कै ! केही मन्त्र उनले मेरो आँखामा नि हालेको हुनुपर्छ । नत्र त्यस्ती चाउरी परेकी बुढिलाई किन संसारकै राम्री देख्थें र ? उनले आफ्नो आवाजमा पनि केही मिसाकै छिन् । त्यसैले त उनको रुखो आवाजमा पनि म माया भेट्छु । कतै उनले मलाई आफ्नो वशमा त पारिनन् ? पक्कै पारिन् होला, र त सधै उनी संगै बस्न मनपर्छ । उनकै काख सारा संसार हो जस्तो लाग्छ । उनले हेर्दा मात्र आधा तनाब भुलीदिन्छु। उनले छुँदा सारा दुनिया भुलीदिन्छु। उनी चुम्बक त होइनन् तर म उनीसँग एक दम आकर्षित हुन्छु। त्यसैले होला मलाई आमा मन पर्दैन ।