अर्पणको ‘घर’मा सुरक्षा पछि बेनिशा भित्रिइन्

अर्पण थापाको ‘घर’मा अभिनेत्री सुरक्षा पन्त पछि अभिनेत्री बेनिशा हमालको प्रवेश भएको छ । फिल्म निर्माण यूनिट र अभिनेत्री हमाल बिच लिखित सम्झौता समेत भइसकेको छ । निर्माता दिपेन्द्र के खनालले आफ्नो फेसबुकमा बेनिशासंग सम्झौता गरेको फोटो पोस्ट गर्दै, ‘घरको परिवार पुरा हुँदै । नायिका बेनिशा हमाल लाइ चलचित्र “घर” मा स्वागत छ’, लेखेका छन् ।

केही दिन अघि मात्र फिल्ममा मुख्य फिमेल लिडमा अभिनेत्री पन्तलाई भित्राएको निर्माण टिमले हाल बेनिशालाई फिल्ममा अनुबन्ध गरेको हो ।

डीएस डिजिटलको ब्यानरमा बन्न लागेको फिल्म शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माण गर्न लागेका हुन् । फिल्म अभिनेता तथा निर्देशक अर्पण थापाले नै निर्देशन गर्दै छन् भने सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । माघबाट फ्लोरमा जाने भनिएको फिल्म पूर्णतया हरर कथामा आधारित हुनेछ ।