प्राविधिक संघद्वारा ‘विपन्नता व्यवस्थापन कोष’ खडा, सहयोगको क्रम बढ्दो

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले विपन्नता व्यवस्थापन कोष खडा गरेको छ । लकडाउनको अवधिमा गुजारा गर्न कठिन भएका फिल्म प्राविधिकहरुलाई सहयोग गर्नको लागि उक्त कोष खडा गरीएको हो । प्राविधिक संघका अध्यक्ष पुष्कर लामा संयोजक रहेको उक्त कोषमा बिनोद लामा, अर्जुन पोखरेल, शालिग्राम दुलाल, दिव्यराज सुवेदी, गीता पौडेल, दिनेश प्रकाश महरा र गौतम धिमाल सदस्यका रुपमा रहेका छन् ।

प्राबिधिक संघका अनुसार ८० प्रतिशत प्राविधिकहरुलाई यतिबेला घर चलाउन कठिनाइ भइरहेको छ । दैनिक ज्यालादारीमा काम गरेर घर चलाइरहेका फिल्म प्राविधिकहरुलाई राहत जुटाउनको लागि यस अघिनै संघले सबैसंग सहयोगको अपिल गरेको थियो ।

त्यस्तै कोषमा सहयोग गर्ने क्रम पनि तिब्र गतिमा बढिरहेको छ । दिपक राज गिरी र उनको टिमले १ लाख २० हजार, पल शाहले ५ लाख १ हजार, अभिनेत्री बर्षा राउतले ५१ हजार, ‘लोकेशन नेपाल’ नामक संस्थाका गौतम धिमालले २ लाख २५ हजार, अभिनेत्री पुजा शर्माले २ लाख, फिल्म सोसाइटी नेपालले ३० हजार, हाल विदेशमा रहेका निर्माता तथा निर्देशक कृष्ण चापागाईंले १ हजार डलर, कलाकार पुष्कर राउतले १५ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले ११ हजार, निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीले ५ हजार सहयोग गर्ने घोषणा गरिसकेका छन् । सबै सहयोग नगदको रुपमा नलिएर खाद्यान्न सामाग्रीहरु किन्नको लागि लिइने नेफ्टा अध्यक्ष लामाले बताएका छन् ।

कोषमा जम्मा हुने रकमबाट खाद्यान्न सामाग्रीहरु खरिद गरि कोषको सहकार्यमा लोकेशन नेपाल संस्थाले वितरण गर्ने निर्णय चलचित्र प्राविधिक संघले गरेको छ । अध्यक्ष पुष्कर लामा भन्छन् – ‘अहिलेको यस विषम परिस्थितिमा आवागमन निषेधित भएको हुँदा राहत सामाग्रीको व्यवस्थापन तथा ढुवानी छाक टार्न गारो भएका प्राविधिक तथा सम्पुर्ण चलचित्रकर्मीहरुको बासस्थान सम्म लोकेसन नेपाल र नेफ्टाले पुराउने जानकारी गराउँदछौ’ । खाद्यान्न सामाग्रीको सम्पुर्ण ढुवानी खर्च लोकेसन नेपालले गर्ने छ । कोषले समस्यामा परेका सम्पूर्ण प्राविधिकहरु तथा फिल्मकर्मीहरुले आफुहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै प्राबिधिकहरु बसोबास गर्ने घरका घरधनीहरुलाई फोन सम्पर्क गरेर घरभाडा मिनाहा गर्न अनुरोध गरिने पनि बताइएको छ ।

यो पनि पढ्नुहोस : 

मनकारी पल, प्राबिधिकहरुलाई ५ लाख सहयोग