विर विक्रम २ र जात्रै जात्रालाई चुनौती

दुबै फिल्म सिक्वेल । सिक्वेलको अपेक्षा पुरा गर्न दुबै निर्देशकलाई कडा चुनौती । जेठ ३ मा रिलिज हुने विर विक्रम २ र जात्रै जात्रा फिल्म यही चुनौतीलाई पार लगाउन दर्शकको विचमा आउन लागेका छन् ।

जात्राको कमाई राम्रो हो । ५१ दिनको पार्टी निर्माताले मनाएका थिए । त्यो भन्दा दर्शकले रुचाएका हुन् जात्रा । जात्राको सिरिज बनेको जात्रै जात्रा यो अपेक्षा पुरा गर्न कती सक्ला ?

जात्रै जात्रा फिल्ममा पात्र फेरिएका छैनन् । विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया जात्रामा पनि थिए, यसमा पनि छन् । यो फाइदा हो । दयाहाङ राइको उपस्थिती जात्रै जात्रालाई फाइदा हो ।

फिल्ममा अनावश्यक हाँसो नभएको ट्रेलर हेर्नेले महशुश गर्छन् । विपिन कार्कीका अन्य फिल्म र जात्रै जात्रा फरक हो । जात्राका मुख्य ब्रान्ड हुन्, विपिन । फिल्मको टिजर र ट्रेलरले पाएको तारिफले जात्रै जात्रालाई फाइदा मिल्छ । फाइदासँगै यसबाट दर्शकले धेरै अपेक्षा गरे भने ? निर्देशक प्रदिप भट्टराई फिल्ममा दर्शकलाई रिझाउन सकेनन् भने ?

फिल्मले दर्शकलाई कौतुहलता र कमेडीमा अल्झाउनपर्छ । जात्रै जात्राको चुनौती यो हो । फिल्मका लागि शनिबार बाहेक अरु दिन बिदा छैन । आइतबारदेखि पूर्ण रुपमा दर्शकको बोली बोलिनुपर्छ । जात्रै जात्रा सिंगल भन्दा मल्टिप्लेक्समा पनि हाबी हुन सक्छ ।

विर विक्रम २ का लागि पनि जात्रै जात्राको जस्तै चुनौती छ । विर विक्रम चलेको फिल्म हो । दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा यो फिल्मका ब्रान्ड हुन् । यसपटक कलाकारमा पुरै फेरबदल आएको छ ।

यसपटक पल शाह, बुद्दि तामाङ र बर्षा सिवाकोटी थपिएका छन् । पहिले दिया पुन अभिनेत्री थिइन् । दर्शकले विर विक्रम २ मा पहिलेका कलाकार खोजे भने विर विक्रम २ लाई समस्या पर्न सक्छ ।

तर, मिलन चाम्सले यसपटक भने टिममा फेरबदल ल्याएर मित्रताको कथालाई भन्न खोजेका छन् । पल शाहको स्टारडममा विर विक्रम २ लाई सुरुको २ दिन बढी भर पर्नु परेको छ ।

विर विक्रम २ को गीत चलेको छ । मल्टिप्लेक्सका दर्शकले विपिन कार्की, रविन्द्र झालाई बढी रुचाउलान् कि पल शाह र नाजिर हुसेनलाई ? यसको पनि छिनोफानो हुनेछ ।

नेपाली फिल्ममा एकसाथ दुइवटा ठूला फिल्म चल्न हुँदैन भनेर भन्छन् । तर, शनिबारको एक दिनको बिदा र बाँकी दर्शकको मुखमा भर पर्नु भएकाले जात्रै जात्रा र विर विक्रम २ लाई चुनौती छ ।