‘वीर बिक्रम २’ टिमसँग अन्तरक्रिया: ‘वीर बिक्रम २’ कस्तो फिल्म हो?

आगमी शुक्रबार अर्थात जेठ ३ गतेबाट फिल्म ‘वीर बिक्रम २’ रिलिज हुदैँछ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिट जोडतोडले फिल्मको प्रचारमा लागिरहेको छ । केही दिन अगाडि फिल्म युनिटले पत्रकारहरुसँग अन्तरक्रिया गरेको थियो ।

पत्रकारसँग वीर बिक्रम २ ले गरेको अन्तरक्रिया जस्ताको त्यस्तै:

वीर बिक्रम २ कस्तो फिल्म हो ?

मिलन चाम्स, निर्देशक- यो फिल्म पूर्ण रुपमा मुलधारको फिल्म हो । यसले साथीको कथालाई प्रस्तुत गर्नेछ । अझ भन्नुपर्दा यस फिल्मले दर्शकलाई पूर्ण मनोरन्जन दिन्छ ।

तपाईलाई अहिलेको समयमा कस्तो फिल्म चल्छ जस्तो लाग्छ ?
मिलन चाम्स निर्देशक-
अहिले कस्तो फिल्म चल्छ भन्ने कुरामा नै हामी एकदम कन्फ्युज छौँ । किनभने समिक्षकले नराम्रो भन्नुभएको फिल्म एकदमै हिट भएका छन् । अब राम्रो भन्नुभएको चलेका छैनन् । त्यसैले मनोरन्जनात्मक हुनुपर्यो । त्यहीँ चल्छ जस्तो लाग्छ ।

वीर बिक्रम भन्ने बित्तिकै पूरानो कलाकारहरुको याद आउने रहेछ के । दयाहाङ राई र अनुप विक्रम शाहीलाई दर्शकले खोजिरहनु भएको छ । तपाईलाई यसमा के लाग्छ ?

मिलन चाम्स, निर्देशक- दर्शकले खेज्नु स्वभाविक हो । तर, उहाँहरुले पूर्ण फिल्म हेरेपछि नयाँ कलाकारलाई पनि स्विकार्नु हुन्छ । हामीले पूरानो फिल्मको कलाकारलाई काही पनि सम्झिने वातावरण बनाएका छैनौँ । दर्शकको आशा भन्दा माथि छ फिल्म ।

पुरानो कलाकारलाई अफर गरिएको थियो कि गरिएन ?
मिलन चाम्स, निर्देशक- उहाँहरुलाई सिक्वेलको लागि अफर गरेको थिए । तर, उहाँहरुले भन्नुभएको समय मिलेन । मलाई समय पक्का नहुने मान्छे दुश्मन जस्तै लाग्छ । त्यसैले त्यो सिक्वेलाई हापेर यो सिरिज बनाए ।

पहिलो फिल्ममा साहायक बनेका नाजिर हुसेन यस फिल्ममा मुख्य भूमिकामा छन् । किन ?
मिलन चाम्स, निर्देशक-
पहिला उ लिखुरे थियो । त्यहीँ भएर उसले मनेको क्यारेक्टर गरेको थियो । अहिले ज्यान बनाएर हिरो जस्तै भएको छ । त्यसैले बिक्रमको क्यारेक्टर सुट हुने लागेर नै उसलाई लिडमा लिएको हुँ । यदी सिक्वेल बनेको भए उ मने कै क्यारेक्टरमा हुन्थ्यो ।

१ बलियो छ कि २ ?

मिलन चाम्स, निर्देशक- १ जस्तो बलियो त २ हुदैँन । तर, म यति भन्न सक्छु कि वीर बिक्रम २ मेरो करिअरको उत्कृष्ट फिल्म हो । अब दर्शकले दिने प्रतिकृयाले भन्ने छ अरु कुरा ।

‘जात्रै जात्रा’सँग जुध्दैहुनुहुन्छ नि !

मिलन चाम्स, निर्देशक-  म त भन्छु ‘जात्रै जात्रा’ चल्नुपर्छ । हिन्दी र अङ्ग्रेजी फिल्महरु पाखा लाग्नुपर्छ । अहिले यहाँ त अङ्ग्रेजी र हिन्दी फिल्मको दवदवा निकै बढेको छ । हलवालाहरु पनि उनीहरुको पछि छन् । नेपाली फिल्मलाई प्राथमिकता दिने कोही छैन् । त्यसैले मेरो प्राथमिकता नेपाली फिल्मलाई छ र प्रतिष्पर्धा बाहिरको फिल्मसँग हो । जात्रासँग मेरो भिडन्त हैन ।

पलजी, लामो समयको ग्याप पछि पुन फिल्ममा काम गर्नुभएको छ । यो ग्याप किन ?

पल शाह, अभिनेता – म १४ महिनाको ग्यापपछि फिल्ममा आउँदै छु । यो ग्याप मैले चाहेर राखेको ग्याप हैन् । यो बिचमा मलाई कुनै पनि फिल्म चित्त बुझेन र गरेको थिइन् । मलाई नराम्रो टिमसँग काम गरेर दर्शक र मिडियाको गाली खानु थिएन त्यसैले यो ग्याप भयो ।

यस फिल्म किन गर्नुभयो ?

पल शाह, अभिनेता – म राम्रो फिल्मको खोजीमा थिए । त्यहीँ समयमा वीर बिक्रम २ को अफर आयो । मैले राम्रो टिम, राम्रो स्कृप्ट र राम्रो कन्टेन्ट पाए । त्यसैले पनि यो फिल्ममा काम गरेको हुँ ।

तपाई सुटिङ सुरु हुनै लाग्दा फिल्ममा जोडिनुभयो । गाह्रो भएन काम गर्न ?

पल शाह, अभिनेता – गाह्रो त खासै भएन । क्यारेक्टर बुझेपछि यसले यस्तो गर्ला है भन्ने लागेर राम्रोसँग नै गरेको छु जस्तो लाग्छ ।

यो टिमसँग जोडिदाको फाइदा के भयो ?

 पल शाह, अभिनेता – फाइदा धेरै भयो । दर्शकले मलाई केही फरक देख्न पाउनु हुन्छ । अनि मैले यो टिमबाट धेरै कुराहरु सिक्ने अवसर पनि पाए । यस फिल्ममा मैले आफूलाई झनै निखार्न पाएको छु जस्तो लाग्छ ।

यो फिल्मले वीर बिक्रमको उचाई चुम्न सक्ला ?

पल शाह, अभिनेता – मलाई त लाग्छ यो फिल्मले पहिलो फिल्मको लेभेललाई छुन्छ । मैले पहिलो पनि हेरेको छु । त्यसमा भन्दा यसमा निर्देशक ज्युले पनि राम्रो काम गर्नुभएको छ । त्यसैले छुन्छ जस्तो लाग्छ ।

नजिरजी, यस फिल्मलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ ?

नाजिर हुसेन, अभिनेता – एकदमै धेरै उत्साहित छु । किनभने यस फिल्ममा हामीले धेरै मेहनत गरेका छौँ । मेहनत अनुसारको काम पनि भएको छ जस्तो लाग्छ ।

तपाईको क्यारेक्टर बिक्रमको हो ?

नाजिर हुसेन, अभिनेता – हो, यस फिल्ममा मलाई बिक्रमको भूमिकामा देख्न पाउनु हुनेछ । म र पल साथी-साथी भएका छौँ ।

वीर बिक्रममा साहयक भूमिकामा हुनुहुन्थ्यो । यसमा लिड । कसरी जुर्यो यो संयोग ?

नाजिर हुसेन, अभिनेता – यो निर्देशकज्युले दिनुभएको सैभाग्य हो । तर, यस फिल्मको बिक्रम क्यारेक्टरमा मैले न्याय पनि गरेको छु जुस्तो लाग्छ । हेरौँ अब दर्शकले के भन्नुहुन्छ ।

वर्षाजी, तपाईको क्यारेक्टर कस्तो छ ?

वर्षा सिवाकोटी, अभिनेत्री – मेरो क्यारेक्टर एकदमै कन्फ्युजिङ क्यारेक्टर छ । यसलाई फिल्म रिलिज भएपछि मात्रै थाहा पाउनु हुनेछ ।

फिल्मबाट कत्तिको आशावादी हुनुहुन्छ ?

वर्षा सिवाकोटी, अभिनेत्री – धेरै नै आशावादी छु । किनभने मैले राम्रो टिम, राम्रो निर्देशक, राम्रो स्प्ट पाएको छु । कतिपय मैले गरेका फिल्महरु नै पहिला स्कृप्टमा एउटा हुन्थ्यो पछि अर्कै भएर आउथ्यो । त्यो कुरा यस फिल्ममा भोग्नु परेको छैन् । त्यसैले पनि आशावादी छु ।

यस फिल्मपछि वर्षालाई फिल्मको वर्षा लाग्ला ?

वर्षा सिवाकोटी, अभिनेत्री – अहिले पनि खाली हात नै त छैन् । त्यहीँ पनि यस फिल्मले मेरो करिअरमा धेरै ठुलो सहयोग पुर्याउने छ । यस फिल्मबाट मैले धेरै कुराहरु सिक्ने अवसर पनि पाएको छु ।

बुद्धिजी, यस फिल्ममा तपाई नेगेटिभ क्यारेक्टर हो ?

बुद्धि तमाङ, कलाकार – नेगेटिभ त हो । तर, पूर्ण रुपमा नेगेटिभ पनि हैन् । यसलाई सपोर्टिङ क्यारेक्टर नै भन्दा हुन्छ । तर, त्यो क्यारेक्टर मै खाउ मै लाउ भन्ने खालको छ ।

कत्तिको गाह्रो भयो यो क्यारेक्टरमा काम गर्न ?

बुद्धि तमाङ, कलाकार – गाह्रो भन्दा पनि चुनौती थियो । मैले एउटै किसिमको काम गरिरहेको थिए । त्यसमा यो विल्कुलै फरक भयो । त्यसैले पनि चुनौती थियो । सुटिङको समयमा पनि मैले निर्देशकलाई सोधिरहेको हुन्थे कि मिल्यो कि मिलेन भनेर ।

यसबाट केही फरक पाउनेछन् दर्शकले ?

बुद्धि तमाङ, कलाकार – पक्कै पनि । खास यो फिल्मको क्यारेक्टर मलाई एकदमै मन परेको क्यारेक्टर हो । त्योमाथि गरिरहेको भन्दा फरक भएपछि लोभ लागिहाल्यो । त्यो भएर पनि फिल्ममा जोडिएको हुँ । जे होस्, फरक गर्ने कोशिस गरेको छु । मिलेको छ छैन् दर्शकको हातमा ।