कलंक रोकियो, भारत रोकिएला ?

बुधबार कलंक फिल्म नेपालमा रिलिज हुन पाएन । कलंक भारतमा रिलिज हुँदा नेपालमा रिलिज हुन नसकेपछि वितरक र केही हल संचालकले आगो ओकले । व्यापारको सिद्धान्तले उनीहरुको आगोलाई जायजै ठान्ला तर नेपाली फिल्मलाई फिटिक्कै माया नगर्ने उनीहरुको इमेज यो घटनाले झन् छर्लङ्ग पारेको छ ।

२ दिन हिन्दी फिल्म रोकिदा आगो ओकल्नेहरुले नेपाली फिल्मको पक्षमा पनि वकालत गरुन्, अहिलेलाई शुभकामना मात्र । भोलिका दिनमा कसको नियत के पक्कै पनि फिल्मकर्मीले मुल्यांकन गर्लान् । कलंक फिल्म नेपालमा शुक्रबार नियमित रिलिज हुने प्रक्रियामा अनुसार आउनेछ । मल्टिप्लेक्समा फिल्मको बुकिङ पनि खुलिसकेको छ ।

कलंक फिल्म रोकिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रशंसा भैरहेको छ । तर, कतिले त उनलाई उनको फिल्म यात्रा हलमा लागिरहेकाले पनि कलंकलाई रोकिएको भनेर लेखिरहेका छन् । यही विषयमा भट्टराई र क्युएफएक्स चेनका एक साझेदार भाष्कर ढुंगाना भने फेसबुकमा भिडेका छन् । कलंक रोकिएपछि भारष्कर ढुंगानाले बोर्डको काममा प्रश्न उठाउँदै भट्टराईले विकास बोर्डको अधिकारको दुरुपयोग गरेको आसय व्यक्त गरेका थिए । सोही स्ट्याटसमा कमेन्ट गर्दै भट्टराईले आफूलाई कलंक सेन्सरका लागि कागजात नै नआएको आसय व्यक्त गरेका छन् ।

उनले फिल्म कलंकको सेन्सरका लागि बुधबारसम्म आफूलाई पत्र नआएको पनि लेखेका छन् । उनले अनावश्यक आरोप लगाएर आफू ओबानो बन्ने काम नगर्न पनि घुमाएर क्यूएफएक्सका मालिक भाष्कर ढुंगानालाई चेतावनी दिएका छन् । तर, बोर्ड अध्यक्षले आफूलाई कलंकको सेन्सरका लागि पत्र नै नआएको भन्ने कुरा सरासर बाझिएको छ । किनकि, निर्माता संघले पत्र काटेपछि सोही पत्रमा टेकेर बोर्डका अध्यक्षले यो निर्णय गरेका थिए । भट्टराई कै हस्ताक्षर रहेको पत्र चलचित्र संघका अध्यक्ष प्रदीप उदयले फेसबुकमा राखेका छन् ।
(हेर्नुस् विकास बोर्डले लेखेको पत्र)

कलंक फिल्म त रोकियो, तर अब अरु हिन्दी फिल्म पनि यसरी नै रोकिन्छन् त ? के अरु हिन्दी फिल्म पनि शुक्रबार नै रिलिज होलान् त भनेर फिल्मकर्मीमा मुखामुख छ ।

सलमान खानले काम गरेको भारत फिल्म वुधबार विश्वभर रिलिज हुन लागेको छ । यो फिल्म इदमा रिलिज हुँदैछ । नेपाली फिल्म इदमा भएपनि वुधबार रिलिज हुन पाउँदैनन् । यसैले यो फिल्म शुक्रबार रिलिज हुन्छ कि हुन्न भन्ने पनि प्रतिक्षाको कुरा हो । यदि, भारत बुधबार रिलिज भयो भने बोर्ड अध्यक्षले आफ्नो फिल्मको कारण कलंक रोकेको भन्ने सन्देश जानेछ । बोर्ड अध्यक्षले यो कुरालाई निरन्तरता दिन आवश्यक छ ।

वुधबार कलंक फिल्मका वितरक मनोज राठीको टिम संचारमन्त्रालय पुगेको भन्ने खबर पनि छ । यसपछि बोर्ड अध्यक्ष पनि मन्त्रालय पुगेको भन्ने खबर छ । बोर्ड अध्यक्षले नेपाली फिल्मलाई मिच्ने खेलको विरुद्धमा निरन्तर प्रक्रिया चलाइराखे भने यो राम्रो पक्ष हो । यस बिषयमा केही वितरक र हलवालाको कुरा सुनेर मन्त्रीले पनि बोर्ड अध्यक्षलाई अनावश्यक दबाब नदिने हो भने यो नेपाली फिल्मको हितकै लागि हुनेछ ।