कलाकारका दाजुभाई / दिदीबहिनी (फोटो फिचर)

हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड हो तिहार (दिपावली) । विशेषत रङ्गीचङ्गी दिप (बत्ति) र फुलहरुले घर आँगन झिलिमिली पारेर यो चाड मनाइने गरिन्छ । तिहारको अन्तिम दिन भाई टिका पर्दछ । परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएक थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमराज यमुनाकहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यही बेला देखि भाई टिकाको सुरुवात भएको थियो ।

भाई टिकाको अर्को रमाइलो कथन पनि छ : एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएकी थिइन् । त्यसै बखत देखि चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहिआएको छ ।

दाजुभाई दिदीबहिनीका लागि निकै नै महत्वपूर्ण रहेको भाईटिका त्यसमा पनि नेपाली फिल्म क्षेत्रमा सकृय कलाकारका दाजुभाई तथा दिदीबहिनीको चर्चा हामी यहाँ गर्दैछौँ ।  कुन कलाकारका कति दाजुभाई तथा दिदीबहिनी छन् फोटोमा हेर्नुहोस् :
अभिनेता / निर्माता दीपकराज गिरीकि एक बहिनी छिन् देवकी । दीपकले बहिनी देवकीको हातबाट टिका ग्रहण गर्नेछन् ।

अभिनेता अनमोल केसीकी एक दिदी छिन् काजोल । अनमोलले काजोलको हातबाट भाई टिका ग्रहण गर्नेछन् ।

अभिनेत्री साम्राज्ञी आर एल शाहका एक भाई छन् सौर्य । उनले सौर्यलाई टिका लगाइदिनेछिन् ।

अभिनेत्री बर्षा राउतका दुई भाईहरु छन् सफल र कुशल । ठुलो भाई पढाईसंगै जागिर गर्छन् भने कान्छा भाई कक्षा १०मा पढ्दै छन् । उनले दुई भाईलाई टिका लगाइदिनेछिन् ।

नायिका रीचा शर्माका एक दाजु र एक भाई छन् राजेश र अनिल । उनले दुई जनालाई टिका लगाउनेछिन् ।

अभिनेता पुष्प खड्काका एक दिदी र एक बहिनि छन् कमला र राधा । उनकी ठुली दिदी समाज सेवामा सकृय छिन् भने कान्छी बहिनी गृहिणी हुन् । पुष्पले दुवै जनासंग टिका लगाउनेछन् ।

अभिनेता सलोन बस्नेतकी एक बहिनी छिन् सलिना । उनकी बहिनी सलिना हाल अध्ययनका लागि अस्ट्रेलियामा छिन् । सलोनले यसपाली टिका लगाउन पाउने छैनन् ।

अभिनेता तथा मोडल निराजन प्रधानका तीन दिदीहरु छन् प्रतिमा, प्रितम र प्रमिता । जेठी दिदी क्यानाडामा भएकाले उनले यसपाली माइली र कान्छी दिदी दुई जनाको हातबाट टिका लगाउनेछन् ।


अभिनेता नाजिर हुसेनले मामाका छोरीहरु सरु, सोनी र सुनितासँग टिका लगाउँछन् । उनका आफ्नै दिदी बहिनी भने छैनन् ।