बुहारी र ज्वाइँलाई समान व्यवहार गरौं, सकिन्छ ?

‘हामीलाई केहि दिनु पर्दैन, त्यहि ७०, ८० जना आफन्त छन्।  उनीहरुलाई मुख हेर्न केहि ल्याउनु पर्छ ।’

‘यो जाबो वासिंग मेसिन कपडा नै सफा हुदैन।’

‘पल्लो घरको काकीले सोद्धै थिइन्, बुहारीले मुख हेर्न के के ल्याईछिन् त !’

‘ए बेड पनि पो दिएनन् ? टाढा थियो ठिकै छ।  किन्ने पैसा त दिए होला नी ?’

‘एउटी छोरीलाई पनि पो खाली हात पठाएछन् !’

यी सब त केहि उधाहरण मात्रै हुन् । यस्ता धेरै छेडखानी सहनै पर्छ एक पहाडिया बुहारीले । जसले भर्खर बिवाह गरेकी छ । थाहा छैन कहिले ?  सायद जिन्दगी भर । बस बिषय परिवर्तन होला ।

तराईमा मात्रै होइन पहाडमा पनि छ दाइजो प्रथा। बस पहाडकाहरुले मुख खोलेर माग्दैनन् । आगोमा जलाउदैनन् । तर कहिले कहिँ लाग्दो हो, दिन दिनै शब्दको बाणले जलाउनु, हिर्काउनु भन्दा त एकै पटक आगोमा जलाएर जिन्दगी सक्काउन् ।

दशैं आउछ, तिहार, लगायत अन्य चाड पर्व । प्रत्येक पटक छोरीको परिवारले खाली हात उसलाई घर पठाउनु हुदैन । जति नै टाढा किन नहोस कोसेली पातले झोला भरिएको हुनु पर्छ । अझ गहना समेत भयो भने त सासु खुसी ।

एउटा परिवारमा छोरी हुर्किन्छे, बिस्तारै बढ्दै जान्छे । बाबु आमाले आफ्नो हैसियत अनुसार पढाउछन् । संस्कार दिन्छन् । २० २५ बर्ष दुख गरेर उसलाई सक्षम बनाउछन् ।

जब उसले धेर थोर कमाउन थाल्छे, आफ्नो पहिचान बनाउने प्रयास गर्छे । तब अरु कसैको घरमा चुपचाप जिम्मा लगाउछन् । बिरुवा रोप्यो, हुर्कायो, बढायो, फल खाने बेला अरु कोहि आउछ । यसो भन्दै गर्दा मैले छोरीलाई बस्तुकरण भने गरेको होइन । बस उदाहरण मात्रै । हासीखुसि छोरीलाइ राम्रो घर सोचेर कोहि एक पराइको जिम्मा लगाउछन् ।

बिवाह गरेर आएकी अर्काकी छोरी हो नि ! टाउको काटेर दिए पनि पतिको घरका मान्छे खुसि हुने छैनन् । किनकी त्यो ‘अर्काकी छोरी’ हो ।

‘म छोरी र बुहारीलाई केहि फरक गर्दिन छोरीबुहारी एकै हुन्’ । हो यहि नै विभेद छ ।

साचै नै फरक नगर्ने हो भने प्रत्येक अभिवावकले छोरा र छोरीलाई एकै प्रकारको संस्कार दिदै एकै व्यवहार गर्नु जरुरि हुन्छ । जब प्रत्येक आमाले छोरा र छोरीमा विभेद नराखी ‘पछी तेरो सासुले…’ पछी तेरी स्वास्नीले.. वाला डाइलग नपेली हुर्काउछिन, तब सम्म समानता आउदैन ।

जवाईले छोरीलाइ बिवाह गरेर लागेसंगै ज्वाई प्रतिको आदर सम्मान नै फरक हुन्छ । हर पल छोरीको चित्त दुखाउला भन्ने डरले पनि उनीहरु भगवानलाई झैँ पूजा गर्न पनि पछी पर्दैनन् । यसको लागि चाहे घरमा भएका दाजु भाइले कमाइको हिस्सा काट्न नै किन नपरोस ।

अनि बुहारी ? बुहारी पनि कसैको छोरी हो । त्यो त प्रत्येक सासुले बिर्सेकै नै हुन्छ त्यहि माथि एक मान्छे भन्दा पनि काम गर्ने मान्छे मानिन्छ । बीना पारिश्रमिकको कामदार ।

छोरा र बुहारी मिलेर घर बन्छ । अनि छोरी ज्वाई मिलेर पनि घर नै बनाउने हुन् । तसर्थ व्यवहार छोरी र बुहारीलाई नभएर छोरा र छोरीलाई अनि बुहारी र ज्वाईलाइ एकै प्रकारको गर्नु पर्ने होला । किनकि छोरीलाई खुसि राख्ने जिम्मा ज्वाईको भए झैँ, आफ्नो घर छोडेर छोरासंगै सासु ससुरालाई खुसि पार्ने ठेक्का बुहारीको हुन्छ ।